Logo
१५ वैशाख २०८१, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीले २ दिन पर्खने

अक्षरपाटी
२०७९ माघ १९ , बिहीबार ०९:०२ मा प्रकाशित

काठमाडौं १९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहने बारे दुई दिनपछि निर्णय गर्ने बताएको छ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले प्रधानमन्त्रीले दुई दिनको समय मागेकाले दुई दिन पर्खने निर्णय भएको पार्टीका प्रवक्ता मुकुल ढकालले बताएका छन्।

उनले गृह मन्त्रालय आफ्नो पार्टीले पाएकाले त्यो फेरि पनि पाउनुपर्ने बताए। ‘अडानबाट हामी पछि हट्दैनौं’, बैठकपछि ढकालले सञ्चारकर्मीहरुसँग भने, ‘कसलाई पठाउने भन्ने रास्वपाको विषय हो, त्यसबारे हामी निर्णय गर्छौँ। प्रधानमन्त्रीले गृहमन्त्री पठाउन भनेपछि पार्टीको बैठक बसेर निर्णय हुन्छ।’

वर्तमान सात दलीय गठबन्धन सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्री थिए। नागरिकता विवादमा सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले लामिछानको सांसद पद खारेज गरेपछि उनी मन्त्री पदबाट बाहिरिएका थिए।

लामिछानेले पुनः नागरिकता प्राप्ति गरेकाले फेरि उपप्रधान तथा गृह मन्त्रीमा फर्किएर आफूले थालेका काम गर्न चाहेका छन्।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले भने गृह मन्त्रालय आफैसँग राख्न चाहिरेका छन्। उनको पार्टीले नै मन्त्रालय आफूसँग हुनुपर्ने धारणा तय गरेको छ।

तर सत्ता गठबन्धनका सुत्रधारका रुपमा मानिएका एमाले अध्यक्ष केपी ओलीले पनि गृहमन्त्री पुनः लामिछानेलाई नै दिनुपर्ने दबाब दिइरहेको बुझिएको छ।

रास्वपाले भने उच्चस्तरीय संयन्त्रको बैठकसम्म पर्खने र थप निर्णय गर्ने बताएको छ।

रास्वपा