Logo
१४ वैशाख २०८१, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई अदालतले कारागार पठायो

अक्षरपाटी
२०७९ माघ २० , शुक्रबार ०३:०२ मा प्रकाशित

धनगढी । नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

कारागारमै रहेर चौधरीले मुलुकी संहिताको दफा १५५ अनुसार कैद भुक्तानबापतको रकम तिर्न सकिने उपभोगका लागि जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।

दफा १५५ को उपदफा ९४० बमोजिम अदालतमा उपस्थित कसुरदारको हकमा कैद पुर्जी जारी भइ आएपछि र फरारको हकमासमेत कसुदार प्रहरी कार्यालयबाट पक्राउ भइ अदालतमा पेश गरी निजको नाममा कैद पुर्जी जारी भइ आएपछि कारागार कार्यालयले त्यस्तो कसुरदारलाई कानुन बमोजिम कैदमा राख्नुपर्ने छ ।

तर, कसुरदारलाई एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय भएको मुद्दामा कसुरदारको उमेर, कसुरको गम्भीरता, कसुर गरेको तरिका, आचरणसमेतलाई विचार गरेर कारागारमा राख्नु उपयुक्त नदेखिएमा तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा हुने नदेखिएमा त्यसको कारण खुलाइ अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यसबापत रकम लिई कैद बस्नु नपर्ने आदेश दिन सक्ने कानूनी व्यवस्था छ । सोहि कानुनी व्यवस्थामा टेकेर सांसद चौधरीले जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।

उनलाई ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा १० वर्षअघि नै कैलाली जिल्ला अदालतबाट ६ महिनाका लागि कैद सजाय सुनाएको थियो । कैलाली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनलाई बाँके प्रहरीले बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ गरेको हो ।