Logo
६ वैशाख २०८१, बिहीबार

कर्णालीमा नेपाल एअरलाइन्सको टिकट अनलाइनबाटै काट्न सकिने

अक्षरपाटी
२०७९ माघ २० , शुक्रबार ०४:०२ मा प्रकाशित

जुम्ला। नेपालगञ्जबाट जुम्लासहित कर्णालीका दुर्गम जिल्लामा उडान हुने नेपाल एअरलाइन्सको जहाजमा अनलाइन ई-टिकट प्रणाली सुरु भएको छ । नेपाल एअरलाइन्सले बिहीवार हिजोदेखि ई-टिकट प्रणाली सुरु गरेको हो ।

नेपालगञ्जबाट उडान हुने जिल्लाहरु जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाइन टिकट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कर्णालीमा पहिलो पटक यो सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

दुर्गमका नागरिकलाई जहिले पनि टिकट लिन सास्ती हुने भएकाले ई-टिकट प्रणाली सुरु गरिएको निगमले जनाएको छ । छिरिङ ल्हामु लामा तामाङले जुम्लाबाट सांसदमा निर्वाचित भएदेखि नै हवाई र यातायातका समस्या सामाधानका लागि पहल सुरु गर्नुभएको थियो। उहाँले कर्णाली र जुम्लामा हवाई उडानको समस्या सामाधानका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई माग पेस गर्दै आउनु भएको छ । सांसद लामाको निरन्तर पहलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीमा अनलाइन ई-टिकट प्रणाली सुरु गरेको हो ।

टिकट प्रणाली पारदर्शी नहुँदा र उडान कम हुँदा हरेक वर्ष जुम्लामा दशैँ तिहारको बेला निक्कै समस्या हुनेगर्छ । यस पटक नागरिकले टिकट नपाइएको गुनासो गरेपछि स्थानीय प्रशासनले लोकसेवासहित परीक्षार्थीलाई प्रशासनमै नाम लेखाएर उडाउन बाध्य भएको थियो । यस्तै, नागरिक समाजले नियन्त्रणमा लिएर जहाज र स्थानीय जनप्रतिनिधिको रोहवरमा नाम लेखाइ एक हप्ताका टिकट वितरण गरेको थियो ।