Logo
२२ वैशाख २०८१, शनिबार

अझै तीन दिन पानी पर्ने सम्भावना छैन : महाशाखा

अक्षरपाटी
२०७९ माघ २१ , शनिबार ०९:०२ मा प्रकाशित

काठमाडौं, २१ माघ। समयमै पानी नपरेर कतिपय किसान हिउँदे बाली लगाउनबाट वञ्चित भएका छन् भने कतिपय लगाइएको बालीनाली पानी नपर्दा नष्ट हुने अवस्थामा छ।

हिउँदे वर्षा बालीका लागि अति आवश्यक भए पनि यो वर्ष पानी पर्न सकेको छैन। गत वर्ष यही समयमा ६० मिलिलिटर पानी परे पनि यो वर्ष भने आजसम्म ७ मिलिलिटर मात्रै पानी परेको छ।

देशैभर तत्काल पानी पर्ने सम्भावना भने अझै नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमवारसम्म पानी पर्ने सम्भावना छैन। तर हिमाली केही ठाउँमा हिमपात हुनसक्ने अनुमान महाशाखाको छ।

यसवर्ष हिउँद सकिनलाग्दा पनि उच्च हिमाली भेगमा विगतजस्तो हिउँ पर्न सकेको छैन। सेताम्य हुने हिमालहरु यसपटक रित्ता देखिन थालेको छन्।

जुन जलवायु परिवर्तनको गम्भिर असरका रुपमा विज्ञहरुले लिएका छन्। लामो खडेरीका कारण जमिनमा भएका पानीका स्रोत पनि सुख्खा हुँदै गएकाले पर्यावरणीय अवस्था चिन्ताजनक भएको विज्ञहरुको भनाइ छ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पानी नै पर्ने गरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन।

प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ। आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना छ।

तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ। अरु ठाउँको मौसम सामान्यतया सफा नै छ।

मौसम