Logo
७ वैशाख २०८१, शुक्रबार

बढ्दै बलात्कारका घटना, घरभित्रै सुरक्षित छैनन महिला

अक्षरपाटी
२०७९ माघ २२ , आईतबार ०७:०२ मा प्रकाशित

काठमाडौं २२ माघ। बलात्कारको घटना सुन्दा नै धेरैको आङ सिरिङ्ग हुन्छ। अझ बलात्कार सहनेको अवस्था कल्पना गर्दा मात्रै पनि कहाली लागेर आउँछ। त्यसरी हुने बलात्कारहरु घरभित्रै हुने गरेका छन् भन्दा त झन पत्याउनै गाह्रो पर्छ।

तर तथ्यांकले भने त्यही सत्य देखाउँछ। नेपाल प्रहरीको तथ्यांकअनुसार श्रीमती, छोरी, बुहारी घरभित्रै असुरक्षित हुने गरेका छन्।

चार वर्षको अवधिमा हजुरबुवाहरुबाट ५ नातिनी बलात्कृत भएका घटना दर्ता भएका छन्। १३ छोरीहरु बुबा र झड्केलो बुवाबाटै अमानवीय कुकृत्य भएको छ।

यही वर्ष १० बुहारी ससुरबाट बलात्कृ भएका घटना प्रहरीमा पुगेका छन्। २ आमा छोराबाट, २४ जना काका, मामा र ठूलोबुबाबाटै पीडित भएका घटना छन्।

हाडनाताबाट जबरजस्ती करणी भएका घटना यत्तिमै सीमित छैनन्। १० महिला देवर, जेठाजुबाट यौन दुराचारमा परेका छन्। ५ जना साली भिनाजुबाटै बलात्कृत भए भने आफ्नै श्रीमानबाट २६ महिला बलात्कृत भएको तथ्यांक प्रहरीसँग छ।

अनि परिचित, छिमेकी र नजिकको साथी, हाडनाताकै लाग्नेमान्छेबाट समेत बलात्कार हुने गरेको तथ्यांकले देखाउँछ।

२ महिला घरमालिकबाट यौन दुराचारमा परेका छन्। केटा साथीबाट बलात्कृत भएका महिलाको संख्या ३२ किशोरी र बालिकामाथि छन्।

विभिन्न स्थानमा घर नजिकैका १ सय ७५ छिमेकीले महिला तथा बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ।

अनि देशको असल नागरिक निर्माण गर्ने कतिपय विद्यालयमै छात्रामाथि यौन दुराचार भएको तथ्यांक प्रहरीसँग छ।

शिक्षादिक्षा दिएर योग्य नागरिक बनाउनुपर्ने कतिपय शिक्षक नै दुरासयपूर्ण भावनाका भइदिनाले छात्रा असुरक्षित हुने गरेको प्रहरीको भनाइ छ।

आफ्नै छात्रामाथि अनैतिक कुकृत्य गरेको आरोपमा विद्यालयका ५ जना शिक्षक पक्राउ परेका छन्।

आफूले सँधै देखिरहने भेटिरहने चिनजानको व्यक्तिबाट ४ सय २० महिला तथा बालिका बलात्कृत हुनुपरेको छ। १ सय १९ वटा बलात्कारका घटना अपरिचित व्यक्तिबाट भएको प्रहरीको तथ्यांक छ।

पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने २०७६,०७७ मा मुलुकभर २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भए ।

ती हाडनाता, परिचित तथा अपरिचित व्यक्तिहरुबाट भएका थिए। तींमध्ये २ हजार १ सय ४४ घटना अदालतसम्म पुगे। प्रहरीमै आउन नसकेका घटना पनि कम नभएको अनुमान गर्न सकिन्छ।

बलात्कारका घटनाको ग्राफ हरेक वर्ष बढ्दो क्रममा छ। मानिस जति शिक्षित, योग्य र आधुनिक भए पनि हरेक वर्ष यस्ता घटना घट्दो क्रममा छैनन्।

आर्थिक वर्ष २०७७, ०७८ मा बलात्कारको ग्राफ झन उकालो लागेको छ। त्यस वर्ष २ हजार ८ सय १५ बलात्कारका घटना भए।

तींमध्ये २ हजार ५ सय ३१ मुद्दा काननी प्रक्रियामा आए। आर्थिक वर्ष ०७८, ०७९ को प्रहरी तथ्यांकले देशभर २ हजार ६ सय ५४ महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको देखाउँछ। जसमध्ये २ हजार ३ सय ८० घटना मात्रै कानुनी उपचारमा आए।

चालु आर्थिक वर्षको ४ महिनामा मात्रै ८ सय ७३ बलात्कारका घटना भएका छन्। त्यसमध्ये ७ सय ९३ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

बलात्कार