Logo
२१ वैशाख २०८१, शुक्रबार

टर्कीमा एकपछि अर्को शक्तिशाली भूकम्प, २३ सयभन्दा बढीको मृत्यु

अक्षरपाटी
२०७९ माघ २३ , सोमबार १०:०२ मा प्रकाशित

काठमाडौं २३ माघ। टर्कीमा सोमबार गएको एकपछि अर्को शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या २३ सय नाघेको छ।

अहिलेसम्म २३ सय १० जनाको ज्यान गएको छ भने १० हजार भन्दा बढी मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सोमबार विहान ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प लगत्तै टर्कीको कहरामानमारस क्षेत्रमा गएको अर्को ७ दशमलव ५ रेक्टरस्केलको भूकम्पले त्यहाँको जनजीवन नराम्रहरी प्रभावित बताएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

अहिलेसम्म टर्कीमा तेस्रोपटक भूकम्प गएको र सयौँ पराकम्प गएको बताइएको छ।

अहिलेसम्म २ हजार ८१८ भवन तथा संरचना भग्नावशेष भएको तथ्यांक बाहिर आएको छ भने २ हजार ४७० जना मानिसको उद्धार गरिएको छ।

अहिले पनि हजारौँ मानिस भत्किएका घर र ढलेका संरचनामा फसेको आशंका गरिएको छ।

टर्कीसँगै सिरिया पनि नराम्ररी प्रभावित भएको छ। भूकम्पले साइप्रस र लेबनानसम्म क्षति पुर्याएको समाचारहरु आइरहेका छन् भने अमेरिकासम्म धक्का महसूस गरिएको छ।

राहत र उद्धारमा उद्धारकर्मीहरु जुटे पनि बत्ति, पानी, नेटलगायतको समस्या र हिउँ परिरहेकाले उद्धारमा कठिनाइ भएको बताइएको छ।

सरकारले टर्कीमा राष्ट्रिय संकटकाल घोषणा गर्नुका साथै १० प्रान्तमा एक साता विद्यालय बन्द गर्ने घोषणा गरेको छ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोगनले भूकम्प पीडितको उद्धार र राहतमा युद्धस्तरमा जुट्न अपिल गरेका छन्। अमेरिका लगायतका देशहरुले भूकम्प पीडितको उद्धारमा सघाउन आफ्नो सुरक्षा एजेन्सीलाई निर्देशन दिएका छन्।

 

 

टर्की भूकम्प