Logo
२९ असोज २०८१, मंगलबार

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई भोलि विश्वासको मत पाउन मुस्किल

अक्षरपाटी
२०७९ माघ २४ , मंगलबार ०४:०२ मा प्रकाशित

काठमाडौं २४ माघ। सुदूरपश्चिमका मुख्यमन्त्री मनोनित भएका राजेन्द्रसिंह रावलले संविधानतः माघ २७ सम्म विश्वासको मत लिइसक्नुपर्ने छ।

रावलले बुधबार (भोलि) विश्वासको मत लिने तयारी गर्दा नागरिक उन्मुक्ति पार्टीका सबै प्रदेशसभा सदस्य भने काठमाडौंमा आएका छन्।

टीकापुर हत्याकान्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका पार्टीका संरक्षक रेशम चौधरीसँग कारागारमै पुगेर पार्टी अध्यक्षलगायत प्रमुख सचेतकदेखि प्रदेशसभा सदस्यले छलफल तीव्र पारेका छन्।

आज भएको लामो छलफलपछि सभासदहरुलाई काठमाडौंमै बस्ने व्यवस्था गरिएको छ।

नागरिक उन्मुक्तिले जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाइको माग गर्दै आफ्नै समर्थनमा बनेको सरकारलाई विश्वासको मत नदिने अडान राख्दै आएको छ। केही दिनअघि मात्रै कैलाली २ बाट निर्वाचिन प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई पुरानो मुद्दामा जेल चलान गरिएपछि नागरिक उन्मुक्ति पार्टी झै रुष्ट भएको छ।

उता प्रदेशका मुख्यमन्त्रीले भोलिका लागि विश्वासको मत लिने तयारी गरे पनि नागरिक उन्मुक्ति पार्टीका सबै सभासद काठमाडौंमा छलफलमा केन्द्रित भएकाले भोलि विश्वासको मत पाउन मुस्किल हुने आकलन गरिएको छ।