Logo
२३ वैशाख २०८१, आईतबार

भूकम्पबाट टर्की र सिरियामा मर्नेको संख्या ११ हजार पुग्यो, २ करोड ३० लाख प्रभावित

अक्षरपाटी
२०७९ माघ २५ , बुधबार १०:०२ मा प्रकाशित

काठमाडौं २५ माघ। टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघेको छ। राहत र उद्धारको कार्य जारी छ।

उद्धारमा जुटेका उद्धारकर्मीहरुका अनुसार मर्नेहरुको संख्या अझै बढ्न सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरुको दाबी छ कि अझै पनि सैयौँ मानिस भत्किएका भग्नावशेषहरुमा पुरिएका छन्।

टर्कीमा सोमबार आएका दुई शक्तिशाली भूकम्प र पटकपटकका सैयौँ परकम्पबाट यहाँका मानिसहरु त्रासमा छन्। घरबाट निस्किएमा मानिसहरु घर फर्कन तयार छैनन्।

उनीहरुमा फेरि पनि भूकम्प जाने हो कि भन्ने भयले सताएको छ। मानिसहरु तेस्रो रात पनि सडकमै बसिरहेको उद्धारकर्मीहरुले बताएका छन्।

अत्याधिक चिसो र हिमपातका कारण घरबार विहीन भएका मानिसहरुको जीवन झन कष्टकर बनेको छ।

टर्कीमा त भूकम्पले क्षति पुर्याएको कैयौ क्षेत्रमा अझै पनि उद्धारकर्मीहरु पुग्न सकेका छैनन्। पीडितहरु आक्रोसित बनेका समाचारहरु पनि बाहिरिन थालेका छन्।

अन्ताकिया सहरकी ६४ वर्षीया भूकम्प पीडित महिला मेलकले भनिन् ‘उद्धारकर्मीहरु कतै पनि देखेकी छैन। हामीसँग न टेन्ट छ, न खानेकुरा। हामी भूकम्पबाट त बच्यौँ तर चिसो र भोककै कारण मर्छौँ होला।’

तीन महिना संकटकाल

टर्कीका १० प्रान्तमा ३ महिनाका लागि संकटकाल घोषणा गरिएको छ। यहाँका सबै स्कुल १३ फरबरीसम्म बन्द गरिएको छ। सबै सरकारी भवनहरु आश्रयस्थल बनाइएका छन्।

७० देश सहयोगमा

अहिलेसम्म भूकम्प पीडितको उद्धारमा ७० देश र १४ अन्तर्राष्ट्रिय संगठनहरु त्यहाँ पुगेका छन्। तर पनि निकै अप्ठेरो अवस्था बनेको समाचार माध्यमहरुले उल्लेख गरेका छन्।

टर्कीमा १० हजार कन्टेनरलाई सेल्टरका रुपमा प्रयोग गर्ने तयारी गरिएको छ। टर्कीमा मात्रै ११ हजार भवन र संरचना तहसनहस भएका छन्। हजारौँ मानिस बेघर बनेका छन्।

उद्धारमा अप्ठेरो

भूकम्पका कारण टर्की र सिरियाका कैयौँ स्थानमा बिजुली र इन्धनको संकट सुरु भएको छ।

सडक र बाटो क्षतविक्षत भएकाले उद्धारकर्मीलाई आवतजावत गर्न पनि समस्या भएको छ। त्यसमाथि अत्याधिक चिसो र हिमपातका तथा वर्षाका कारण उद्धारमा समस्या भएको छ भने, घरबार विहीन बनेकाहरु थप कष्ट भोगिरहेका छन्।

भूकम्पबाट २ करोड ३० लाख प्रभावित

विश्व स्वास्थ्य संगठनका अनुसार टर्की र सिरियामा २ करोड ३० लाख मानिस प्रभावित भएका छन्। डब्लूएचओले भूकम्पबाट मर्नेको संख्या बढ्ने आंकलन गरेको छ। -एजेन्सीको सहयोगमा, तस्विर: रोयटर्स