अक्षरपाटी टिप्पणी । वामदेव गौतम गृहमन्त्री हुँदा राजधानी काठमाडौंको रत्नपार्कमा ०७२ जेठ १ गते सडक पार गर्दै गरेको एउटा तस्विर निकै भाइरल भयो।
सामाजिक सञ्जालमा तत्कालीन गृहमन्त्रीको आलोचना पछिसम्म भइरह्यो। त्यसबेला एमालेका नेता शंकर पोखरेलले गौतमको आलोचना निकै भएको देखेपछि सामाजिक सञ्जालमा आश्चर्य मात्र व्यक्त गरेनन्, सडकमा जुलुस भएका कारण त्यसरी ट्राफिक नियम उलंघन गर्नुपरेको भन्दै बचाउ गरेका थिए।
उनी देशका गृहमन्त्री मात्रै थिएनन्, शीर्ष नेता र साथमा सुरक्षाका लागि नेपाली सेनासमेत लिएर हिँडेका थिए। उनले गरेको कानुनको उलंघन र अनुशासनको उपहासको कतै औपचारिक विरोध तथा उपचार कसैले खोजेन।
त्यसको सात वर्षपछि धनगढी उपमहानगरपालिकाको ६ लेन सडकमा केही स्थानीय बटुवाले सडकको बीचमा लगाएको तारजाली नाघेर बाटो पार गरेको तस्बिर यतिबेला निकै भाइरल र आलोचित भएको छ। यो क्रम केहीदिनदेखि जारी छ। तर हामीले आलोचना गरिरहँदा काठमाडौंको आकाशे पुलमुनी उभिएर हेर्यौँ वा जेब्राक्रसको संकेत राखिएको सडकमा उभिएर हेर्यौँ भने यस्ता दृश्य बग्रेल्ती देखिन्छन्।
त्यो मात्र होइन जेब्राक्रसमा बटुवाले पाइला राखेपछि हुइँकिरहेका सवारीसाधन रोकिनुपर्ने हो । विडम्बना करोडका कारमा सवारहरुलाई ‘दुई आनाको सडक सँस्कार’ प्रदर्शन गर्ने फुर्सद हुँदैन। हो, धनगढीको दृश्य जायज थियो भन्नु अर्को बेकुफी पक्कै हुनेछ।
तर त्यही धनगढीको ‘सिक्स लेन’मा कति स्थानमा जेब्राक्रस बनाइएको छ ? बनाइएको जेब्राक्रममा सवारीसाधनले सडक पार गर्ने बटुवाको कति सम्मान गरेका छन् ? एउटा प्रश्न भने हामीले गर्नैपर्छ।
त्योभन्दा जटिल र गहन प्रश्न त सिक्स लेन सडक निर्माण गरिरहँदा हामीले वारीपारी बस्ती भएको धनगढी चौराहादेखि अत्तरियासम्म बटुवाका लागि कति ठाउँमा वारपार गर्ने ठाउँ तोक्यौँ ? तोकिएका तीं स्थानमा कतिवटा आकाशे पुलको परिकल्पना गर्यौँ ? अहँ, हामीले यी प्रश्न र आवश्यकताका बारेमा कहिल्यै बोलेनौँ र आफ्नो वौद्धिकता प्रर्दशन गरेनौँ।
बरु हामीले धनगढी चौराहाको व्यक्ति वाणिज्य बैंकमा काम सकेर पारिपट्टीको होटेलमा चिया खान जानुपरेमा उसले लुरुलुरु हिँडेर सहीदगेट पुगेर घुम्दै आउनुपरेको दृश्य हामीले टुलुटुलु हेरेर बसिरह्यौँ।
६ लेन सडकको वल्लो बजारबाट पल्लो बजारमा जान हिँडनुपर्ने दोहोरो दूरी गरेर एक किलोमिटर यात्रा र आधा घन्टाको समय नागरिकले खर्चनुपर्ने अवस्थाको उपहासमा हामी जति कस्यिौँ, हामीले धनगढी उपमहानगरपालिकाका मेयरसाप, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारलाई उनीहरुको समयको हानी, उनीहरुको सम्याबारे सानो स्वरमा पनि प्रश्न सोधेको भए फेरि यस्ता दृश्य देख्न र यो अवस्था भोग्ने नियतिबाट हामी सायद आगामी दिनमा मुक्त हुनसक्ने थियौँ।
तर हामी त विकासमाथिको विकास ६ लेनमा स्वभाविक रुपमा बल्नैपर्ने सडकबत्तीलाई ‘स्मार्ट लाइट’को उपमा दिएर ताली पडकाउनमै मग्न भयौँ। बिधुत प्राधिकरण र स्थानीय सरकारले गर्नैपर्ने विद्युतीकरण, उत्पादन बढ्दै गएको अवस्थामा खपत गर्नेपर्ने वाध्यात्मक अवस्थालाई हामीले अद्वितीय कार्यका रुपमा अतिरञ्जित गर्यौँ।
बरु हामीले गाउँ, ग्रामीण भेगका अँध्यारा गल्ली र गोरेठोमा कहिले बत्ति बल्छ ? मेयरसाप ? भनेर कहिल्यै प्रश्न गर्न सकेनौ। कारण हामी बाटो नपाएर तारजाली नाघ्ने निरिह जनतामाथि खनिन जति सजिलै सक्छौँ, शक्ति र सत्तका अघिल्तिर हामी त्यति नै दासत्व प्रदर्शन गर्न माहिर छौँ ।
फेरि पनि भनौँ, बीचमा बार हालिएको तार नाघेर सडक पार गर्नु न सडक सभ्यता हो, न बहादुरी। तर मानिसको सुविधाका लागि बनाइएका सडक मानिसकै लागि अवरोध बनाइनु पनि सभ्यता र दूरदृष्टिबिनाको विकास हो भन्ने भुल्नु हुँदैन।
कतिपय सडक, बजार र वस्तीका आफ्नै मौलिकता हुन्छन्। सुदूरपश्चिममा धनगढीको पुरानो बजार पुरानो सभ्यता हो। तर यसलाई तोडेर बनाइँदै गरेको फराकिलो सडक पनि यहाँको भौतिक विकास त पक्कै हो तर यसले यहाँको मौलिकता, यहाँको व्यापार व्यवसायमा ठूलो धक्का पुर्याउने छ। त्यो कसरी ? त्यो कसरी भने वारी बजारको मानिस पारी बजार जान त्यसैगरी सक्ने छैन, जसरी सिक्स लेनको हविगत भएको छ।
हो, धनगढीले सहीद गेटदेखि क्याम्पस रोड सम्मको सडकलाई फराकिलो बनाएर पुरानो बजारको सडक व्यवस्थित मात्रै गर्नसक्नुपथ्र्यो, गरेन। भोलिका दिनमा यहाँ पनि आकाशे पुल बनाइएनछन् भने आज सिक्स लेनमा देखिएका दृश्य मात्र होइन किनमेल गर्न आउनेहरु ठूलो दुर्घटनामा पर्ने जोखिम उत्तिकै हुनेछ।
त्यसैले पुरानो बजारमा धनगढी चौराहादेखि क्याम्पस रोडसम्म साना सवारीलाई मात्र अनुमति दिनुपर्ने वा पैदल हिँड्नुपर्ने गर्नुपर्ने दिन आउनसक्छ ।
धनगढी उपमहानगर