Logo
२३ कात्तिक २०८२, आईतबार

ओलीको गम्भीर अभिव्यक्ति, भन्छन– मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी भारतप्रतिको बफादारी, चीनप्रतिको गद्दारी

अक्षरपाटी
२०७९ फागुन २० , शनिबार ०६:०३ मा प्रकाशित

काठमाडौं २० फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा बौद्ध विश्वविद्यालय स्थापनाको तयारीको विषयलाई लिएर गम्भीर टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि भारतको दलाली र चीनविरुद्ध गद्दारी गर्न सो प्रस्ताव अघि सारेको अभिव्यक्ति दिएका हुन्।

एमाले अध्यक्ष ओली आज पार्टी कार्यालयमा स्थानीय तह कर्मचारी संघको भेलामा उपल्लो मुस्ताङमा भारतले
बौद्ध कलेज खोल्ने तयारी गरेको भन्दै प्रधानमन्त्री दाहालमाथि गम्भीर आरोप लगाए।

उनले मानिसको बसोबास नै नरहेको उपल्लो मुस्ताङमा भारतले युरेनियमलाई ध्यानमा राखेर कलेज खोल्न चाहेको बताए। भारतलाई त्यहाँ कलेज खोल्ने अनुमति दिनु राष्ट्रियतामाथिको गद्दारी भएको उनको भनाइ थियो।

उपल्लो मुस्ताङको फल्याक क्षेत्रमा भारतले ७० करोड ३३ लाख रुपैयाँ लगानीमा बौद्ध कलेज स्थापना गर्न चाहेको हो। यही विषयमा बोल्दै ओलीले विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुरुप सो योजना अघि सारेको उनले दाबी गरे।

‘मुस्ताङमा विश्वविद्यालय (मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो। राष्ट्रियतामाथिको प्रहार हो’, ओलीले भने,‘मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो।’

ओलीले २०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजिएको आरोप समेत लगाए।

उनले भने, ‘आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो। स्वधिनतालाई अस्वीकार गरेको हो।’ ओलीले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताए।