Logo
२२ वैशाख २०८१, शनिबार

खेलकुद पत्रकार मञ्चले वर्षेनी गर्ने स्पोर्टस अवाड आज

अक्षरपाटी
२०७९ फागुन २३ , मंगलबार ११:०३ मा प्रकाशित

काठमाडौं २२ फागुन। नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आज हुँदैछ।

१९औं संस्करणको अवार्ड काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको हो। स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिने संस्थाका महासचिव प्रज्वल ओलीले बताए।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा गरिनेछ।

यो वर्ष पनि वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन्।

यस वर्षदेखि वर्ष युवा खेलाडीको विजेतालाई पनि पल्सर मोटरसाइकल दिइने महासचिव ओलीले जानकारी दिए। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउने छन्।

मनोनयनमा परेकाहरु
पिपल्स च्वाइस विधा– क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी छन्।

वर्ष पुरुष खेलाडी– फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल छन्।

वर्ष महिला खेलाडी– भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल छन् ।

वर्ष युवा खेलाडी– फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी छन्।

वर्ष प्रशिक्षक– फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन्।