Logo
२२ वैशाख २०८१, शनिबार

एकदिवसीय मान्यता जोगाउन एक जित टाढा

अक्षरपाटी
२०७९ फागुन २५ , बिहीबार ०५:०३ मा प्रकाशित

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग दुईमा पपुवा न्युगिनिलाई नेपालले ५२ रनले पराजित गरेको छ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर १ बलमा २ सय ९७ रन बनाएको थियो।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले जोडेको यो अहिलेसम्मकै सर्वाधिक रन हो। उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० रन बनाए।

उनले १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे । उनले अर्का ओपनर कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा पेभिलियन फर्किएका कुशलले ४५ रन जोडे ।

त्यसपछि मैदान आएका कुशल मल्ल र ज्ञानेन्द्र मल्ल क्रिजमा टिक्न सकेनन् । कप्तान रोहितले ३० रन जोडे । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका भिम सार्कीले क्रिजको एकतर्फ नेपालको ब्याटिङ सम्हाल्ने प्रयास गरे।

३८ बलमा ४ चौकासहित ४४ रनमा खेलिरहेका उनी ५०औं ओभरको पहिलो बलमा १०औं विकेटेका रुपमा क्याच आउट भए । आरिफ शेखले १५ रन जोडे । पपुवा न्युगिनिका सेमो कामेयाले ५ र रिले हेकुरेले तीन विकेट लिए।

२ सय ९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४७ ओभर १ बलमा २ सय ४५ रनमा समेटियो। मध्यम सुरुवात गरेको पपुवा न्युगिनिका लागि ओपनर टोली उराले ४४ बलमा ९ चौका प्रहार गर्दै ५० रन जोडे।

नोरम्यान भनुवाले ६०, असद भालाले ४४ र किप्लिन डोरिगाले २६ रन बनाए । सन्दीप लामिछानले चार र दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए।

आजको नतिजापछि नेपाल एकदिवसीय मान्यता जोगाउन मात्र एक जित टाढा छ। तर, शीर्ष तीनमा पर्न बाँकी तीनै खेल जित्नु पर्नेछ। ३३ खेलबाट नेपालको ३४ अंक भएको छ ।