Logo
१४ वैशाख २०८१, शुक्रबार

यो साता नेप्से सकारात्मक

अक्षरपाटी
२०७९ फागुन २७ , शनिबार ०८:०३ मा प्रकाशित

काठमाडौं। यो साता तीन दिन खुलेको सेयर बजार दुई दिन नेप्से उकालो यात्रामा लाग्यो।

बैंकको व्याजदर घटाउने निर्णयको प्रभाव पनि सेयर बजारमा परेको देखिन्छ।

आइतबार ३० दशमलव ७७ अंकले घटेको नेप्से खुलेको बाँकी दुई दिन मंगलबार र बिहीबार उकालो लाग्यो।

सोमबार र बुधबार सार्वजनिक बिदा हुँदा बजार नै खुलेन । अघिल्लो साताको तुलनामा यो साता नेप्से ३३ दशमलव ६८ अंकले बढेर २ हजार २ दशमलव ७ अंकमा पुग्यो।

जबकी अघिल्लो साता नेप्से ४७ अंकले घटेको थियो। यो साताको अन्तिम कारोबारको एकै दिन भने नेप्से ५० अंकले बढ्यो।

जुन दिन बिहान बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको क्लब ‘नेपाल बैंकर्स संघ’मा बचत खाताको ब्याजदर घटाउने र प्रिमियम दर पनि बढीमा ५ प्रतिशतमात्रै लिने निर्णय भएको थियो।

चैत १ देखि लागू हुने गरी ब्याजदर घटाउने समझदारीकै प्रभावस्वरुप घट्दो क्रममा रहेको नेप्सेले बिहिबार उकालो लाग्यो।

चैतदेखि वाणिज्य बैंकले ५ प्रतिशतभन्दा धेरै प्रिमियम नलिने भनेका छन्। तर यसअघिको ६ प्रतिशतको सीमालाई ५ प्रतिशतमा झार्दा कति ऋणीले लाभ पाउँछन् भन्ने स्पष्ट भने छैन।

साना उद्यमी र आवधिक कर्जामा प्रिमियम बढाउन नपाउने व्यवस्था पहिले नै भइसकेकाले नयाँ सुविधाको लाभ धेरै ऋणीले नपाउनसक्ने सम्भावना पनि उत्तिकै छ।

तर लगानीकर्तामा भने बैंकमा अब तरलता पनि सहज हुँदै जाने बुझाइ छ। यो साता सेयर कारोबार रकममा भने केही कमी आयो। कारोबार रकम ४ अर्ब ७ करोड १४ लाख रुपैयाँमा सीमित भयो। जबकी अघिल्लो साता ७ अर्ब ११ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

सातामा ३ दिन मात्र बजार खुलेकाले कारोबार रकम सानो देखिएको हो। लगानीकर्ता अहिले अर्थ मन्त्रालय नेपाली कांग्रेसले सम्हाल्ने खबरले पनि केही उत्साही छन्।

उदार अर्थतन्त्रको वकालत गर्ने भएकाले कांग्रेसलाई लगानीकर्ताले बजारमैत्री मान्छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ३ गतेका लागि तय उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तारको तयारी गरेका छन्। त्यसको प्रभाव पनि सेयर बजारमा परेको देखिन्छ।

नेप्से सेयर