Logo
१३ वैशाख २०८१, बिहीबार

नेपालले यूएईलाई १७७ रनले हरायो

अक्षरपाटी
२०७९ फागुन २८ , आईतबार १०:०३ मा प्रकाशित

काठमाडौं २८ फागुन। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्र्रङ्खलामा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको छ।

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा ७१ रनमै अलआउट भयो।

यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए। बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए। यस्तै सन्दीप लमिछानेले २ तथा सोमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १, १ विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २४८ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए। यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए।

बलिङतर्फ यूएईका आयन अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले २, २ विकेट लिए।

यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ। नेपाल ३४ खेलमा ३६ अंकसहित लिग २ तालिकाको चौथौ स्थानमा उक्लिएको छ।

एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ। नेपालसँगको हारसँगै यूएईको एकदिवसीय मान्यता खतरामा परेको छ।

अब यूएईले एकदिवसीय मान्यता जोगाउन बाँकी दुई खेलमा ठूलो अन्तरले जित हात पार्नुपर्ने हुन्छ।

३४ खेलमा ३१ अंक भएको यूएई तालिकाको छैटौँ स्थानमा छ। पाँचौँ स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अंक छ। नामिबिया ३६ खेलमा ३९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

यो जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ।

अब नेपालले लिग–२ को अन्तिम शृङ्खलाको बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ। अब नेपालले सोमबार पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ।

लिग–२ बाट स्कटल्यान्ड ३६ खेलमा ५० अंक र ओमान ३६ खेलमा ४४ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै सोझै विश्व कप खेल्नका लागि छनोट भइसकेका छन्।

आईसीसी