Logo
१२ वैशाख २०८१, बुधबार

डीडीसीले पनि बढायो दूधको मूल्य, उपभोक्ता भन्छन् : सरकार आम नागरिकको कि बिचौलियाको ?

अक्षरपाटी
२०७९ चैत्र १ , बुधबार ०६:०३ मा प्रकाशित

काठमाडौं। सामान्य ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका सर्वसाधारणले अब एक लिटर दूध किन्न पनि १० पटक सोच्नुपर्ने भएको छ।

सरकारले मूल्य बढाउने निर्णय गरेलगत्तै निजी स्तरका डेरी र दुग्ध व्यवसायीले दूधको मूल्य बढाए पनि आजसम्म दुग्ध विकास संस्थान डीडीसीले भने बढाएको थिएन। भोलिबाट लागू हुनेगरी डीडीसीले पनि लिटरमै ११ रुपैयाँ बढाएपछि अब बजारमा दूधको मूल्य कम्तिमा सय रुपैयाँ पुग्ने भएको छ।

‘किसानले पाउनेगरी’ भन्दै सरकारले दूधको मूल्य ९ रुपैयाँ बढाउने निर्णय गरेलगत्तै निजीस्तरका डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसन दूध र दुग्धजन्य पदार्थको मूल्य छोइनसक्नु बनाएका थिए।

त्यसलगत्तै भोलि बिहीबारदेखि लागू हुने गरी सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले नै दूधको मूल्य ११ रुपैयाँले बढाएपछि भने आम उपभोक्ता मारमा पर्ने भएका छन्। सामान्य आय भएकाहरुले बालबच्चालाई दिनमा एक लिटर दूध पनि किन्नै नसक्ने अवस्था आएको उपभोक्ताहरु बताउँछन्।

‘एक लिटर दूध दिनकै किन्न पनि अब महिनामा ३ हजार ३५ सय चाहिन्छ’, सडक किनारामा सागपात बेचेर परिवार पाल्दै आएकी हरिकला रम्तेलले भनिन्, ‘अब त गरीबले बाँच्नै नसक्ने दिन आए। गरिबले दुई गाँस खानै नसकिने भयो, चामल, दाल, तेल पनि बर्षमै पाँचपटक मूल्य बढेको छ।’

किसानका लागि भन्दै सरकारले ६५ रुपैयाँबाट ९ रुपैयाँ मूल्य बढाएर लिटरको ६५ पु¥याए पनि अब बजारमा एक लिटर दूधका लागि उपभोक्ताले कम्तिमा १०० रुपैयाँ तिर्नुपर्ने छ। त्यो पनि प्रसोधित दूधको ।

प्रसोधन नगरिएको र खुला दूधको मूल्य त १२० रुपैयाँ पुर्याइएको छ। सरकारी स्वामित्वकै संस्थाले आफ्नो मात्र फाइदा हेरेपछि आम उपभोक्तामा झन निराशा थपिएको छ।

‘किसानले पाए त ठिकै हो’, एक उपभोक्ताले भने, ‘किसानको नाममा यहाँ बिचौलिया र व्यापारीलाई पोस्ने काम भएको छ। होइन भने बढेको मूल्यमा पनि किसानले ६५ मात्रै पाउने भनिएको छ। अनि बजारमा १२० रुपैयाँ मूल्य हुँदा ५५ रुपैयाँ कसको गोजीमा जाँदैछ ? सरकार बिचौलियाको कि आम नागरिकको?’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जिव झाले जनाएका छन्।

डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ हुनेभएको छ।

निजीस्तरका डेरीहरुले मनोमानी रुपमा दूधको मात्र होइन पनिरको पनि किलोमै १४० रुपैयाँ बढाएका छन्। डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनका अनुसार ७ सयबाट ८४० प्रति किलो पुर्याइएको छ।

नयाँ मूल्य अनुसार उपभोक्ताले अब ११ सयमा पाउँदै आएको घिउका लागि पनि २ सय रुपैयाँ बढी तिर्नुपर्ने भएको छ।

मनपरी रुपमा गत आइतबारदेखि लागू गर्ने गरी बढाइएको मूल्य अनुसार घिउको मूल्य प्रति किलो १३ सय पुर्याइएको छ।

दही पनि छोइ नसक्नु बनाइएको छ। आजसम्म १६५ मा पाइने बट्टाको दहीमा २५ रुपैयाँ बढाएर १९० पुर्याइएको छ भने ११० मा पाइने सादा दही २० रुपैयाँ बढाएर १३० पुर्याइएको छ।

कुनै मापदण्ड पुरा नगरी किसानले ७० प्रतिशत पाउने भन्दै संघले उक्त मूल्यमध्ये दूधको मूल्य बढाइए पनि नियमन, अनुगमन र गुणस्तरमा भने नियामक निकायले ध्यान दिएको छैन।

बजारमा हरेक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दा पनि सरकारले नियन्त्रणका कार्यक्रम ल्याउन रुची नदेखाउनुले आम जनतामा थप निराशा थपेको छ।