Logo
४ वैशाख २०८१, मंगलबार

राष्ट्रपति पौडेलले भने : आर्थिक सुस्तताको असर नेपाल पनि देखिइसक्यो

अक्षरपाटी
२०७९ चैत्र ४ , शनिबार ०३:०३ मा प्रकाशित

काठमाडौं ४ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी आर्थिक सुस्तताको असर नेपालमा पनि देखिन थालेको बताएका छन्।

शीतल निवासमा आज सांसदहरुका लागि आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोभिड–१९ महामारीपछि विश्वव्यापीरुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालिसकेकाले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए।

उनले राजनैतिक उपलब्धिलाई सदुपयोग गरेर तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन आवश्यक रहेको बताए।

उनले भने, ‘लोकतान्त्रिक संस्था बलिया र कानुनसम्मत नभए त्यस्ता संस्थाप्रति नागरिकको विश्वास धर्मराउँछ। व्यवस्थाप्रति वितृष्णा जाग्ने खतरा हुन्छ। यसतर्फ सजग हुन आग्रह गर्छु।’

राष्ट्रपति पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति आवश्यक रहेको समेत औल्याए। उनले संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनीतिक उपलब्धिको रक्षा र जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरूको व्यवस्थापनमा पनि राष्ट्रिय सहमति आवश्यक छ।

राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताए। संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति सधैं सचेत उनको भनाइ थियो।