काठमाडौँ, ५ चैत । आज ललितपुरका जनप्रतिनिधि र स्थानीयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष भेट गरेका छन् ।
शीतल निवासमा आज भएको भेटमा ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका जनप्रतिनिधिले भेट गरी राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनलगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयको सहभागिता थियो ।
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीद्वारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु राष्ट्रपतिसमक्ष हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी महानगरपालिकाको मुखापत्र हस्तान्तरण गर्नुभएको थियो ।