काठमाडौं । चीनसँग जोडिएको व्यापारिक नाका रसुवागढी ३६ महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
भूकम्पलगायत कोभिड–१९ लाई कारण देखाउँदै आवतजावत बन्द भएको नाका शनिबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
दुई देशका अधिकारीको उपस्थितिमा शनिबार केही कन्टेनर केरुङ पठाइएको हो । नेपाली गाडीमा निकासी–पैठारीसहित मानिसको पनि आवागमन समेत खुला गरिएको छ।
शनिबार बिहान दुई देशको सिमानास्थित चीनतर्फको भूभागमा एक कार्यक्रम आयोजना गरी नेपालतर्फका प्रतिनिधिमण्डलका प्रमुख नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहितको एक टोली तथा चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीसहितको प्रतिनिधिमण्डलले संयुक्त उद्घाटन गरी रसुवागढी नाका पुनः दुईतर्फी सञ्चालनमा आएको घोषणा गरेका थिए।
घोषणालगत्तै नेपाली र चिनियाँ नागरिकको आवतजावतसँगै नेपाली कन्टेनर सामान लिन चीनतर्फ पठाएर नाका पूर्ण रूपले औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आइतबारदेखि नेपाली कन्टेनरले नै चीनबाट सामान लिएर आउने छन्।
एक महिनापछि तातोपानी नाका समेत सञ्चालनमा आउने भएको छ।