सुर्खेत। जाजरकोट–डोल्पा सडकमा पर्ने तल्लुबगरमा बनाउँदै गरेको बेलीबृज भाँचिदा आज दिउँसो २ जनाको मृत्यु भयो।
दुर्घटनामा ६ जना गम्भीर घाइते भए। मृत्यु हुनेमा भारत महापुरका पुरुषोत्तम कुमार विक्रम र धर्मेन्द्र गौतम रहेको प्रहरीले जनाएको छ।
५ जना घाइतेको जाजरकोटको दल्ली अस्पतालमा उपचार भइरहेको छ। क्रेन चालक नवालपरासीका निरज कुमार चौधरीलाई भने नेपालगञ्ज पठाइएको छ।
जाजरकोट नलगाड नगरपालिका तल्लुबगर भेरी नदीमाथिको यो जाजरकोट र रुकुम पश्चिमलाई जोड्दै डोल्पा सदरमुकाम दुनैसम्म सिधा यातायात संजाल बिस्तारका लागि महत्वपुर्ण पुल हो। यति महत्वपूर्ण पुलको डिजाइन कसरी कमजोर बन्यो ? भन्ने प्रश्न गम्भीर बनेको छ।
नहुनुपर्ने दुर्घटना भइसकेपछि पुलको डिजाइन गर्ने प्राविधिकमाथि यहाँका बासिन्दाले प्रश्न उठाएका छन्। उनीहरुले उक्त पुल बनाउँदा बनाउँदै भाँचिनु दुखद भएको बताउँदै भनेका छन्,‘यदि चलेको अवस्थामा, सवारी गुडिरहेको बेला यस्तै दुर्घटना भएको भए झन कनि ठूलो क्षति हुने थियो होला ?’
पुलको डिजाइनदेखि निर्माण गर्ने पक्षमाथि छानबिन गरेर कडा कारबाही गरिनुपर्ने माग उठेको छ।