काठमाडौं। नेपालमा उत्पादित सवारी साधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ।
सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी झन्झट हल गर्न सम्बन्धित कानुनहरु संशोधन गरेर मन्त्रिपरिषदमा प्रस्ताव ल्याउने निर्णय भएको छ।
सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समस्या हल गर्न निदेर्शन दिएका थिए।
त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरोकारवाला निकायहरुसँग गरेको छलफलमा त्यस्तो निर्णय भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीनदिन भित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।
नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषदमा पेश गर्ने व्यवस्था मिलाउने समेत बैठकमा निर्णय भएको छ।