Logo
१२ वैशाख २०८१, बुधबार

भैरव अर्यालमाथि लेखिएकाे ‘भग्न भैरव’ सार्वजनिक

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार १०:०४ मा प्रकाशित

काठमाडौं। भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ सार्वजनिक भएको छ।

प्रोल्लास सिन्धुलीयद्वारा लिखित भैरव अर्यालको जीवनीमा आधारित उपन्यास’भग्न भैरव’ साहित्यिक पत्रकार रोचक घिमिरे, लेखक नारायण ढकाल र कवि ज्योति जङ्गलले लोकार्पण गरेका हुन्।

आफूलाई नै कथावाचक बनाएर लेखिएको उपन्यासबारे रोचक घिमिरेले ‘भैरव र आफ्नो’ सम्बन्धसँग सम्बन्धित रोचक संस्मरण सुनाए।

आफूले देखेका, भोगेका र आजसम्म भैरव अर्यालबारे संकलन भएका तथ्यहरू प्रोल्लास सिन्धुलीयलाई उपलब्ध गराएर उपन्यास लेख्न लगाएको उनले बताए। उनले भने,’उपन्यास भए पनि यो तथ्यमा आधारित भैरव अर्यालको जीवनी नै हो।’

त्यसैगरी अर्का वक्ता लेखक नारायण ढकालले विश्वप्रशिद्ध चित्रकार भ्यानगगको आत्मजीवनीपरक उपन्याससँग तुलना गर्दै भग्न भैरवको प्रसंसा गरे।

‘३३ वर्षको जीवनमा भैरव अर्यालले भोगेका जीवनका उतारचढावलाई प्रोल्लासले रोचक शैलीमा प्रस्तुत गरेका छन्। सम्भवत यो नेपालको पहिलो आत्मजीवनीपरक उपन्यास हो।’

त्यस्तै कवि ज्योति जङ्गलले हास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालको बौद्धिकता, शिल्प र हास्यचेतको चर्चा गर्दै उपन्यासको भाषा, शैली र प्रस्तुतिको चर्चा गरिन्।

‘कविको भाषा आफैँमा विम्बात्मक त भैहाल्छ तर भग्न भैरवमा प्रोल्लासले प्रस्तुति र लेखनको बुनोटमा समेत नयाँ काम गरेका छन्। यो उपन्यास नेपाली साहित्यको एउटा उपलब्धी हुनेछ’, उनले भनिन्।

लेखक सिन्धुलीयले भैरव अर्यालको जीवनीमा आधारित उपन्यास लेख्न रोचक घिमिरेले प्रेरित गरेको बताए।

बुकहिलले सार्वजनिक गरेको ३०२ पृष्ठको उपन्यासको मूल्य ५५५ रुपैयाँ राखिएको छ।