Logo
१६ चैत्र २०८०, शुक्रबार

भुटानी शरणार्थी प्रकरणः सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति, रायमाझीको खोजी जारी

अक्षरपाटी
२०८० वैशाख २१ , बिहीबार ०२:०५ मा प्रकाशित

काठमाडौं। भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइर ठूलो रकम ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो। बुटवलमा पक्राउ परेका उनलाई प्रहरीले जहाजबाट आज बिहान काठमाडौं ल्याएर अदालतमा उपस्थित गराएको थियो।

सोही प्रकणमा मुछिएका पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेको भनिए पनि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा उनलाई पक्राउ पूर्जी जारी भएको छ।

बुधबार पक्राउ पूर्जी जारी हुँदा टोपबहादुर अर्घाखाँचीको एक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी थिए। त्यसयता उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।