Logo
१५ वैशाख २०८१, शनिबार

पुरै सिनेमा हेर्ने सबैको रहर, नापी तौली काण्डको उजागर

अक्षरपाटी
२०८० वैशाख २५ , सोमबार ११:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउपुर्जी जारी भएपछि उनी अर्घाखाँचीबाटै गुप्तबास छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी मात्रै भएको छैन उनका छोरा सन्दीप पक्राउ परिसकेका छन्।

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (पूर्व गृहसचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ८ जना पक्राउ परिसेका छन्।

लहरो तान्दा पहरो खस्न थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक त प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै भेटे। दोस्रो भेटपछि दाहालले एक कार्यक्रममा आफू कुनै दबाबमा नपर्ने, अहिले ट्रेलर मात्रै देखाएको र पुरै फिल्म देखाउन बाँकी रहेको प्रतिक्रिया दिए।

जुन अभिव्यक्तिलाई लिएर संसददेखि सडकसम्म टिप्पणी हुन थालेको छ। संसदमा प्रधानन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर एमालेका सांसदहरुले आफूहरु विभिन्न स्थानबाट टिकट काटेर पुरा फिल्म हेर्न आएको, प्रधानमन्त्रीले कहिले फिल्म देखाउने? भन्ने व्यंग्यात्मक अभिव्यक्ति दिइएनन्।

सबैले आफूअनुकूल हुनेगरि विभिन्न ‘काण्ड’हरुको उजागर गरे। छानविनको माग गरे। कसैले ललिता निवाश काण्डकाको छानविनको माग गरे, कसैले यति, ओम्नी काण्डबारे बोले, कसैले ललिता निवाश प्रकरण त कतिले, वाइडबढी त कसैले क्यान्टोनमेन्टको विषय छानविन हुनुपर्ने माग राखे।

यी सबै काण्डका बीचमा ३३ किलो सुन प्रकरणको विषय उठेन। न त ७० करोड अर्थात सेक्युरिटी प्रिन्टिङ प्रेसको विषय उठ्यो।

सुन काण्डदेखि, ललिता निवाससम्म, वाइड बढीदेखि यति ओम्नी र सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणका असली योजनाकारहरु खुलेयाम रहेको जनगुनासो यत्रतत्र हुने गरेको छ।

प्रकरण जुनसुकै होस्, आर्थिक अनियमितता मात्र होइन अन्तर्राष्ट्रिय रुपमै देशको लज्जा हुने गरी भएका प्रकरणहरुमा गलत गर्नेकाविरुद्ध संसद नै विभाजित हुनु दुर्भाग्यपूर्ण र अर्को लज्जाको विषय भएको टिप्पणी हुनेगरेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले झन भइरहेको अनुसन्धानलाई इङ्गित गर्दै प्रतिपक्षीलाई मुद्दामा फसाउने खेल भइरहेको टिप्पणी नै गरेका छन्।

टोपबहादुर रायमाझीलाई बाटैबाट समात्नुपर्ने खालको व्यक्ति नभएको अभिव्यक्ति दिएक ओलीले सोमबार राष्ट्रिय युवा संघको कार्यक्रममा उनले आफ्नो पार्टीविरुद्ध षडयन्त्र भइरहेको र त्यसो भएमा सह्य नहुने टिप्पणी गरे।

उनले प्रधामन्त्रीलाई इङ्गित गर्दै प्रधानमन्त्री भ्रष्टलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा भएको दाबी गरे।

हिंजो आफू सत्तामा हुँदा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा लगाएर पनि आफ्नै पालामा उजागर भएको ललिता निवाश प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस, ३३ किलो सुन काण्ड, यति, ओम्नी प्रकरणदेखि अनेकन आर्थिक बेइमानी र तस्करीका घटना सार्वजनिक हुँदा पनि त्यसै सेलाएको टुलुटुलु हेरेका ओली अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सत्य र विधिविधानको पक्षधरका रुपमा आफूलाई उभ्याउन सकिरहेका छैनन्।

आफ्नो पार्टीमा गलग गर्नेलाई कानुनी दायरमा ल्याउन सघाउँदै अन्य पार्टीका पनि नाम मुछिएका व्यक्तिहरुलाई सत्यतथ्य छानबिनका लागि प्रतिपक्षीको धर्मअनुसारको भूमिका निर्वाह गर्नुपर्नेमा बरु ओलीले प्रधानमन्त्रीलाई भने, ‘उहाँ दूधले नुहाएको पवित्र अवतारका सात मिडियामा प्रस्तुत हुनुभयो। उहाँ दुनियालाई लट्पटाउन सिपालु हुनुहुन्छ।’

ओलीलाई केरैले प्रश्न गरिरहेका छन्, ‘दूधले नुहाएजस्तो उहाँ होइन भने देशको जिम्मेवार प्रमुख प्रतिपक्षी दल र दुईपट प्रधानमन्त्री भएको नेताले किन मौनता साधेर बसेको ? सप्रमाण उहाँलाई पनि कानुनी कठघरामा ल्याउने जिम्मेवारी र अधिकार छैन र ?

दुईपटक देशको प्रधानमन्त्री भइसकेको व्यक्ति, जिम्मेवार प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले उनले दिएको अभिव्यक्ति निकै कमजोर स्तरको भएको टिप्पणी हुनथालेको छ।

त्यो मात्र होइन ओलीले विधि, विधान, पद्धति र कानुनी राज्यलाई सबल बनाउन सघाउनुभन्दा गलत गर्नेलाई ओत दिइरहेको आरोप लाग्ने गरेको छ।

हो सत्तारुढ दलकै जिम्मेवार नेताका नाम पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर समाचार आइरहेका छन्। तर उनीहरु र एमालेका टोपबहादुर रायमाझीका सवालमा भिन्नता के छ भने टोपबहादुर प्रहरीले खोजेदेखि सम्पर्कमा छैनन्। तर अन्य दलका नेताहरु आफ्नो संलग्नता नभएको जवाफ लिखित मात्र होइन, संसदमै उपस्थित भएर दिइरहेका छन्। प्रतिवाद गरिरहेका छन्।

‘चोरको खुट्टा काट’ भन्दा खुट्टा लुकायो भने शंकालाई त्यसले झन बलियो बनाउँछ। झन दह्रो गरेर खुट्टा टेकेर उभियो भने त्यसले शंका गर्नेलाई पनि कमजोर बनाउनसक्छ। तर रायमाझीलाई अनुसन्धानको प्रक्रिया थाल्दैमा एमालेमा देखिएको ‘छटपटी’ र रायमाझीको गुप्तबासले ‘दाल मे कुछ काला हे’ भन्नेलाई बल पुगेको छ। अनि ‘आफू सरकारमा नहुँदाका काण्ड खोजी खोजी र हुँदाका काण्ड रोजी रोजी’ले पनि दल र तिनका नेताहरुको नियत सफा छैन भन्ने प्रष्ट्याइरहेको छ।

केपी शर्मा ओली नक्कली भुटानी शरणार्थी