Logo
१७ असार २०८३, बुधबार

देशको शिर निहुरियो, जोसुकै भए पनि कारबाही हुनुपर्छ : कोइराला

अक्षरपाटी
२०८० वैशाख ३० , शनिबार ११:०५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका कारण देशको शिर निहुरिएको बताएका छन्।

उनले राज्य संयन्त्रको चरम दुरुपयोग गरी नेपाली नागरिकबाट मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउने जस्तो घृणित कार्यमा संलग्न जोसुकैलाई कानुनको कठघरमा ल्याएर कडा सजाय दिनुपर्ने बताए।

मानव तस्करजस्तो घृणित कार्यमा राज्य नै सञ्जाल खडा गरेर संलग्न हुनुले विश्व समुदायमा देशको शिर निहुरिएको बताउँदै उनले राज्यका जुनसुकै तहका व्यक्ति भए पनि छोड्न नहुने बताएका छन्।

‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ।’

यो घटनाले देशको शासक र प्रशासकप्रति नागरिकको चरम अविश्वास बढको बताउँदै उनले यसले लोकतन्त्र र संविधानलाई नै असुरक्षित पारेको टिप्पणी गरेका छन्।