Logo
२७ वैशाख २०८१, बिहीबार

एमसीसीपछि देशमा अमेरिकी सेना बाक्लिए : झलनाथ खनाल

अक्षरपाटी
२०८० जेठ ३ , बुधबार ०३:०५ मा प्रकाशित

काठमाडौं। एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास भएपछि नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिको चहलपहल बाक्लिएको बताएका छन्

३१ औं मदन—आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको बताए।

उनले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेलभूमि बनाउन खोजेको आरोप लगाउँदै एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को ‘झुण्ड’ नेपाल आइरहेको जिकिर गरे।

उनले नेपाललाई विदेशीको खेल मैदान बन्न दिन नहुने भन्दै नेपालमा अमेरिकीहरुको उपस्थिति बाक्लिनुको कारणबारे नेपाली सचेत हुनुपर्ने बताए।

खनालले देशको राजनीतिक अस्थिरताग्रस्त भएको, आर्थिक संकटमा देश भयावह अवस्थामा गइरहेको पनि बताए। उनले नेपाल रेमिटयान्समा आधारित देश बन्दै जानु खतराको कुरा भएको पनि बताए।

खनालले नक्कली भूटानी शरणार्थी प्रकरण ज्जास्पद र राष्ट्रघाती भएको बताए। उनले यो प्रकरण निष्पक्ष रुपमा छानबिन भइ किनारासम्म पुग्नुपर्ने बताए।

प्रकरणमा मुछिनेहरुको संख्या बढ्दै गएको र ठूला नेताहरु पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रुपमा टुंगोमा पुर्याउन उनले आग्रह गरे।