Logo
१४ वैशाख २०८१, शुक्रबार

‘नीरफूल’को गीति भिडियो सार्वजनिक

अक्षरपाटी
२०८० जेठ ८ , सोमबार १०:०५ मा प्रकाशित

काठमाडौं। जेठ २६ गते देशभर प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ को गीति भिडियो सार्वजनिक भएको छ।

युट्युबमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ।

२०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्मको यो गीतमा राजेशपायल राईको स्वर सुन्न सकिन्छ।

गीतमा संगीत चन्द्रकुमार दोङले भरेका हुन्। सेलो संगीतमा आधारित गीतको गीति भिडियोमा दयाहाङ राई आफ्नो परिवारसित हाँसीखुशी रमिरहेका देखिन्छन। साथै फ्यामिलि मिसिङको दुःखलाई पनि भिडियोमा समेटिएको छ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन फूलमान वलले गरेका हुन्। पटकथा लेखक समेत रहेका निर्देशक वलले यो फिल्मलाई भूकम्पले भत्काएको सम्बन्धहरुलाई जोड्न गरिएको प्रयत्नको रुपमा दावी गरेका छन्।

‘कन्टेन्ट प्रधान’ फिल्म भएकोले ‘नीरफूल’लाई दर्शकले रुचाउने उनको दावी छ।

धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्।

सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ।

सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय छ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा विभिन्न देशमा रहेका नेपाली पनि सहभागी छन्।