Logo
७ वैशाख २०८१, शुक्रबार

नेपाल–भारतबीच उर्जा ब्यापार सम्झौता, पारवहन सन्धि नवीकरणसँगै समुद्रसम्मको पहुँच

अक्षरपाटी
२०८० जेठ १८ , बिहीबार ०४:०६ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमणका क्रममा नेपाल–भारतबीच दीर्घकालीन उर्जा ब्यापार सम्झौतासहित विभिन्न समझदारी भएका छन्।

दाहालको भारत भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको वार्तापछि विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको हो।

भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा द्विपक्षीय समझदारीबारे जानकारी गराइएको हो। समझदारी अनुसार नेपालले भारत हुँदै ५० मेगावाट विद्युत बंगलादेश बेच्च पाउने भएको छ।

त्यस्तै तल्लो अरुण र तल्लो फुकोट जलविद्युत आयोजना निर्माण गर्ने समझदारी समेत भएको छ। दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि मोतिहारी–अमलेखगञ्ज तथा सिलिगुडी–झापा गरी दुईवटा पेट्रोलियम पाइपलाइन निर्माणको समझदारी भएको छ।

त्यस्तै नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ। अब नेपालले जलमार्ग, रेलमार्ग र स्थलमार्गबाट भारत र समुद्रसम्मको पहुँच पाएको छ।

त्यस्तै कञ्चनपुरको दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणसम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ।

भारतसँग अन्तर्देशीय अनलाईन पेमेन्ट प्रणालीका लागि समेत दुवै पक्षले सरकारी लगानीको कम्पनीमार्फत काम गर्ने घोषणा गरेका छन्।

भारतले नेपालमा मल कारखाना निर्माणका लागि सघाउने प्रतिवद्धता समेत जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले नेपालको सीमा विवादलाई प्रवेश गराएका छन्।

प्रधानमन्त्री दाहालले सीमा समस्यालाई द्विपक्षीय स्थापित कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका थिए भने भारतीय समकक्षी मोदीले दुई देशबीचको सम्बन्धलाई हिमालजस्तै उँचो बनाउने बताए।

मोदीले भारत र नेपालबीच दीर्घकालीन उर्जा ब्यापार सम्झौता भएको प्रतिक्रिया दिए। उनले यो सम्झौता भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताए।