Logo
१४ वैशाख २०८१, शुक्रबार

देवप्रसाद भन्छन् : प्रधानमन्त्रीको भारत भ्रमण सफल भयो

अक्षरपाटी
२०८० जेठ २१ , आईतबार ०६:०६ मा प्रकाशित

काठमाडौं। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताएका छन्।

भ्रमणको क्रममा दुबै देशबीच पारवहान, सीमा, ऊर्जालगायत महत्वपूर्ण सहमति भएको गुरुङले बताए।

संवाद डबलीमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले भने, ‘सापेक्षित रुपमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको छ। सीमा, पारवहान, ऊर्जासहित सात बुँदे सहमति हुनु उपलब्धीमूलक हो। यसबाट दुबै देशले फाइदा लिन सक्नुपर्छ।’

गुरुङले नागरिकता विधेयक प्रमाणिकरण गर्नुको अर्को विकल्प नभएको पनि बताए। संसदबाट पारित भइसक्दा पनि अघिल्लो राष्ट्रपतिले नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु स्वाभाविक भएको गुरुङले दाबी थियो।

उनले २०७२ सालमै संविधानमा गरिएको व्यवस्था अनुसार विधेयक आएको जिकिर गरे।

राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउन केही समूहले गणतन्त्रको विरोध गरेको गुरुङले बताए।

राष्ट्रियतालाई कमजोर बनाएर अस्थिरता निम्त्याउन चाहने वित्तीय दलाल पुँजीपति वर्गको स्वार्थको लागि गणतन्त्रको केही समूहले विरोध गरेको गुरुङले बताए।

‘नेपालमा वित्तीय एकाधिकार पुँजीपति वर्गले परनिर्भरतातिर धकेलिरहेको छ। यसले राष्ट्रिय स्वाधिनतालाई बलियो हुन दिँदैन। लोकतान्त्रिक गणतन्त्रले राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउछ कि भन्ने चिन्ता भएकै कारण केही व्यक्तिले विरोध गरिरहेका छन्, उनले भने, ‘गणतन्त्रको विरोध जनताले गरेका होइनन्, अस्थिरता निम्त्याएर नेपालीलाई परनिर्भर बनाउँने वित्तीय दलालको स्वार्थमा हो।’

देव गुरुङ