


काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गर्ने भएका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा आज अपराह्न ४ः३० बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
छोटो समयमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको एनपीएलको तेस्रो संस्करणलाई थप भव्य र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा स्वदेशी खेलाडीसँगै अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटको स्तर र आकर्षण बढाउने विश्वास गरिएको छ।
प्रधानमन्त्री शाहले एनपीएलको शुभारम्भका अवसरमा नेपाली क्रिकेटप्रति शुभकामना व्यक्त गर्दै प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गरेका छन्।
उनले नेपाली खेलाडी, प्रतियोगिताका आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई समेत सफल आयोजनाका लागि शुभकामना दिएका छन्।
केही वर्षमै एनपीएल नेपाली खेलकुदको भव्य उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै उनले नेपाली क्रिकेटको निरन्तर प्रगतिको कामना गरेका छन्।
यस संस्करणमा आठ फ्रेन्चाइज टोली सहभागी हुँदैछन्। प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।
एनपीएलले नेपाली युवा क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीसँग खेल्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धा र क्रिकेटप्रेमी दर्शकहरूको उत्साहका कारण एनपीएल नेपाली खेलकुदकै आकर्षक प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ।
यसपटकको प्रतियोगिताले नेपाली क्रिकेटको लोकप्रियतालाई थप उचाइमा पुर्याउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको आकर्षक गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनपिएल खेलकुद

