Logo
२८ असोज २०८३, बुधबार

भारतको बिहारमा भत्कियो बन्दै गरेको विशाल पुल

अक्षरपाटी
२०८० जेठ २२ , सोमबार ०७:०६ मा प्रकाशित

एजेन्सी। भारतको बिहारस्थित भागलपुर जिल्लामा गंगा नदीमाथि बन्दै गरेको पुल गल्र्यामगुर्लुम भत्किएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुल भत्किँदा मानवीय क्षति भने भएको छैन।

आइतबार साँझ ६ बजेतिर पुल भत्किँदै गरेको भिडिओ स्थानीयवासीले खिचेका हुन्।

बन्दै गरेको पुल भत्किएको विषयमा बिहार सरकारले छानबिनको आदेश दिएको छ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले यो घटनामा दोषी ठहरिने जो कोहीलाई कडा कारबाही गर्ने बताएका छन्।

भागलपुरको सुल्तानगन्ज र खगडिया जिल्लाको अगुवानी भन्ने ठाउँको बीचमा बनिरहेको यो पुल चार लेनको बनाइँदै थियो।

करिब तीन किलोमिटर लामो यो पुलको फाउन्डेसनका ३० भन्दा बढी स्ल्याब भत्केको अनुमान छ।

पुल सन् २०१४ मा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेका थिए। पाँच वर्षमा निर्माण सक्ने सम्झौतासहित यो पुल एक निजी कम्पनीलाई जिम्मा दिइएको थियो।

तर सात वर्ष बितिसक्दा पनि पुल बनिसकेको थिएन। यो पुल बनाउन एक हजार सात सय करोड भारूभन्दा धेरै रकम लाग्ने अनुमान थियो।

एक वर्षअघि पनि यो पुल भत्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। निर्माणाधीन पुल भत्केको भिडिओ सार्वजनिक हुनेबित्तिकै सत्तारूढ भारतीय जनता पार्टीले (भाजपा) ले नितिश कुमारविरूद्ध बोलेको छ।