Logo
६ चैत्र २०८०, मंगलबार

छात्रवृत्ति उपलब्ध नगराए काठमाडौंका ३४२ विद्यालयको दर्ता खारेजीसम्म गर्ने महानगरको चेतावनी

अक्षरपाटी
२०८० जेठ २३ , मंगलबार १०:०६ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाले नियमानुसार छात्रवृत्ति नदिने निजी विद्यालयको सूची सार्वजनिक गर्दै कारबाहीको चेतावनी दिएको छ।

३४२ विद्यालयको नामसहित सूची सार्वजनिक गर्दै महानगरले जेठ २८ सम्म छात्रवृत्ति दिएको जानकारीसहितको विवरण नपठाए दर्ताखारेजीसम्मको नियमानुसार कारबाही गरिने उल्लेख गरेको छ।

महानगरपालिकाले जेठ १० गते सूचना निकालेर शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण पठाउन भनेको थियो। जुन विवरण महानगरको वेबसाइटमा पनि राख्ने गरिएको छ।

सूचनाअनुसार विवरण पेश गरेका विद्यालयलाई महानगरले धन्यवाद समेत दिएको छ। तर नियमानुसार नगर्ने तीन सय ४२ विद्यालयको भने सूची नै प्रकाशित गरेर कारबाही गर्ने चेतावनी दिएको हो।

महानगरको शिक्षा विभागले सूची सार्वजनिक गर्दै निजी विद्यालयलाई आउँदो २८ गते छात्रवृत्ति दिएको विवरण पठाइसक्न भनेको छ। तोकिएको मितिभित्र विवरण नबुझाए विद्यालयलाई दिइएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी माहनगरले दिएको छ।