Logo
१५ वैशाख २०८१, शनिबार

किसानको पनि होइन र, यो देश…!

अक्षरपाटी
२०८० जेठ २६ , शुक्रबार १०:०६ मा प्रकाशित

सम्पादकीय

उडेर आकाशै किन नछोओस मान्छे, आँखिर चाहिने दुई रोटी नै हो। अर्थात सुनकै महलमा बसे पनि अन्नपानीबिना मानिसको जीवन चल्दैन।

परिकार जे बनाए पनि धर्ती सिँचेर उब्जाएको कृषि उपज नै अपवाद बाहेक मानिसका लागि नभैनहुने आहारा हो। यसो भनौ भोजनविना मानिसको जीवन छैन। त्यसैले त दिनरात नभनी मानिस एक गाँस जुटाउनकै लागि भौतारिएको पनि हुन्छ।

अथाह आम्दानी गर्नेहरु पनि साँझ विहानको त्यही एक गाँसबिना जीवन जीउन समर्थ हुँदैनन्। हो यति महत्वपूर्ण उब्जनी दिने वर्ग भनेको किसान नै हो। अझ नेपालजस्तो अधिकांश जनसंख्या कृषिमा निर्भर रहेको कृषिप्रधान देशका लागि त किसान समाज सञ्चालनको मियो नै हो।

विडम्बना, राज्यको व्यवहार र राज्य सञ्चालकको नजरमा भने यो देशमा किसान नै सबैभन्दा बढी उपेक्षित वर्ग बनेको छ।

सहजै सिँचाइसम्म नभएको भूमीमा वर्षभरी पसिना बगाएर उब्जाएको उब्जनीले बजार पाउँदैन। खेती गर्ने मौसममा मल हुँदैन। बिऊ चाहिँदा बिऊको व्यवस्था गरिँदैन। र पनि यो कृषिप्रधान देश हो। यहाँका अधिकांश जनता कृषिमा निर्भर छन्।

किसान मिहिनेतबाट यतिसम्म पनि फुर्सद पाउँदैन कि उसले आफ्ना पीरमर्काका लागि आन्दोलन, हडतालसम्म गर्न सक्दैन। बरु उनीहरुको नाममा ‘नक्कली किसान’ हालीमुहाली हुन्छन् र राज्यबाट छुट्याइएको सुविधा लिन्छन्।

यतिबेला संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ। संसोधन नहुने अनर्थको असहमतिमा सदनको समय खेर गइरहेको छ। बरु संसदमा बेतुकको मुर्रा भैसीं कि राँगाको बहस चर्कियो।

मानो रोपेर मुरी उब्जाउने किसान भने उनीहरुको पशु चौपायामा महामारी बनेर फैलिएको लम्पी स्किन रोगका कारण मर्माहत भएको छ।

एउटा किसानका लागि बाँझो खेत जोतिदिने हलगोरु नै सर्वस्व हो। गरिखाने किसानका लागि एउटा दुहुनो गाई वा भैंसी बैंक व्यालेन्स हो। आम्दानीको सम्पूर्ण स्रोत हो।

दुःखद सत्य के भने देशभरका किसानले झण्डै २० हजार पशुचौपाया गुमाइसकेका छन्। उनीहरुका गोठ बाँझा भइरहेका छन्। तर संसोधन नहुने बजेटमाथि बहस जारी छ, बेतुकको मुर्रा राँगा र भैंसीको चर्चाचर्की सकिएको छ। किसानको मर्माहत अवस्थाबारे एकआध सांसदबाहेक कसैले आवाज उठाएको छैन।

आम जनताको अभिभावक भनेको सरकार किसानको घाउमा मल्हम लगाउने फुर्सदमा छैन बरु व्यापारिक घरानालाई खुशी पार्नमै मग्न छ।

देशका प्रधानमन्त्री परराष्ट्र, खेलकुद, वनमन्त्रीदेखि पर्यटन राज्यमन्त्री मात्र होइन लुम्बिनीको प्रदेशसभा बैठक नै स्थगित गराएर प्रदेश प्रमुख, लुम्बिनीका मुख्यमन्त्री, मन्त्री र सांसदको जम्बो टोली लिएर लुम्बिनी केवलकारको उद्घाटन र व्यापारीको नयाँ प्रडक्टको प्रचारमा तल्लिन देखिन्छन्।

अनि वर्षे खेतीको मुखमा जोतिखाने गोरु लम्पीका कारण मरेका किसान, साँझ विहान दूध बेचेर बच्चा पढाउने श्रमिकले सोधुन कि नसोधुन्- ‘सरकार यो देश किसानको पनि होइन र?’

किसान सम्पादकीय सरकार