Logo
२१ वैशाख २०८१, शुक्रबार

टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ: अर्थमन्त्री महत

अक्षरपाटी
२०८० जेठ २७ , शनिबार ०९:०६ मा प्रकाशित

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन्।

नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री महतले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन। यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले सुरुङमार्गको बहुआयमिक उपयोगिता छ। त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन।’

उनले यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको पनि बताए। ‘चर्चा भयो, ठोस पहल भएन। अहिले हामीले पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं। विदेशी सहयोग आउने सम्भावना छ’, भवन उद्घाटन समारोहमा मन्त्री महतले भने, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रकृया हामी अगाडि बढाउँछौं।’

महतले यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो नभएको र सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढनुपर्ने पनि बताए।

तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको उनले बताए।

यसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई यो सुरुङमार्गलाई ठूलो सहयोग पु¥याउने भएकाले यसको निर्माण सम्पन्न हुन हामीले केही वर्ष पर्खिनुपर्ने बताए।

धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको बताउँदै उनले धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि आफूले सक्ने बजेट विनियोजन गरेको उनले सुनाए।

प्रकाशशरण महत