Logo
२० वैशाख २०८१, बिहीबार

पूर्वी नेपालमा बाढीपहिरोः धनजनको ठूलो क्षति

अक्षरपाटी
२०८० असार ३ , आईतबार १०:०६ मा प्रकाशित

काठमाडौं ३ असार। मनसुन सुरु भएसँगै परेको पानी र बाढीपहिरोका कारण पूर्वी नेपालमा धनजनको ठूलो क्षति भएको छ।

गएराति परेको पानी र बाढीका कारण अहिलेसम्म पूर्वी नेपालमा २५ जना बेपत्ता भएका छन्। एक जनाको ज्यान गएको बताइए पनि पूर्ण विवरण भने आइसकेको छैन।

पाँचथरमा पाँच जना बेपत्ता भएको त्यहाँका सुरक्षा अधिकारीले जनाएका छन्। पाँचथरको हेवा १ जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा, फिदिम ४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र हेवा खोलाबाट एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

फालेलुङ ३ खोलाघारीमा पहिरोले पुरेका एक बालकको सकुशल उद्धार गरिएको छ। जिल्लामा बाढीले पाँचवटा पुल बगाएको छ।

याङवरक गाउँपालिकाका विभिन्न स्थानमा ९ वटा घर बगाएको प्रहरीले जनाएको छ।

शनिबार रातिकै पानी र बाढीले संखुवासभाको हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

तीन जनाको भने उद्धार गरिएको र उनीहरुलाई उपचारका लागि चैनपुर पठाइएको छ। संखुवासभाकै पाँचखपन नगरपालिका ५ मा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

उता ताप्लेजुङ मा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन्। पुरिनेहरुमा एकै परिवारका तीन जना रहेको बताइएको छ।

गएरातिको पहिरोमा सिदिङ्वा गाउँपालिका ६ मेहेलेका यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्वल बेपत्ता भएको र सोही ठाउँका गणेश तामाङ पनि हराइरहेको प्रहरीले जनाएको छ।

बेपत्ता चारै जनाको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पूर्वी नेपालमा आएको वर्षा र बाढीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।

पूर्वी नेपाल बाढीपहिरो