


काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन आफूले सभापति पदमा उम्मेदवारी दिएको बताएका छन्।
कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको दाबी गर्दै खड्गीले पार्टीको विधि र पद्धतिलाई बलियो बनाउन आन्तरिक प्रतिस्पर्धा आवश्यक रहेको बताए। उनले कांग्रेसभित्र कतिपय अवस्थामा कम्युनिस्ट पार्टीमा देखिने द्वैध चरित्रजस्तो अवस्था देखिन थालेको टिप्पणीसमेत गरे। पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक अभ्यासबाट अघि बढाउनुपर्ने उनको भनाइ छ।
खड्गीले कांग्रेसका नेता गगन थापाप्रति आफ्नो सम्मान र सद्भाव रहेको पनि स्पष्ट पारे। थापा आफ्नो आदरणीय नेता भएको उल्लेख गर्दै उनले सभापति निर्वाचनमा आफ्नो उम्मेदवारीलाई व्यक्तिगत प्रतिस्पर्धाका रूपमा मात्रै नबुझ्न आग्रह गरे।
‘नौ जना सभापति निर्वाचित भएर सभापति भएका छन्। १५औँ महाधिवेशनमा पनि निर्वाचित भएर सभापति हुनुपर्छ भन्ने मान्यताका साथ म आएको हुँ,’ खड्गीले भने।
उनका अनुसार कांग्रेसको नेतृत्व निर्वाचित प्रक्रियाबाट आउनुपर्ने र पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ। १५औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दर्ता गराउँदै खड्गीले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनलाई आफ्नो मुख्य मुद्दा बनाएका छन्।
नेपाली कांग्रेस श्यामकृष्ण खड्गी

