Logo
१६ वैशाख २०८१, आईतबार

फड्को मार्दै निसर्ग अस्पताल : बच्चाको उपचारमा आफूले भोगेको कष्ट अरुलाई नपरोस् भनेर अत्याधुनिक बालविभाग

अक्षरपाटी
२०८० असार १४ , बिहीबार ११:०६ मा प्रकाशित

धनगढी १४ असार। मानिसले परेको दुःखलाई छिचोलेर अगाडि बढ्यो भने उ सफल हुन्छ। त्यही दुःख अरुलाई नपरोस भनेर योजना बुन्यो भने नयाँ सिर्जना हुन्छ।

कुनै समय आफ्नै बच्चाका उपचारमा भोगेको सास्तीलाई सम्झिएर धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष तिर्थराज पन्तले अस्पतालको बालविभागलाई अत्याधुनिक उपचार सेवा सुरु गर्ने जमर्को गरेका छन्।

सेन्टरले एकपछि अर्को सेवा विस्तार गर्ने क्रममा सुदूरपश्चिममै पहिलोपटक न्यूरोदेखि ट्रमा विभाग स्थापना गरेर स्वास्थ्य सेवा दिँदै आएको थियो। अब भने बालरोग विभागलाई समेत व्यवस्थित र अत्याधुनिक बनाइने योजना अघि सारिएको हो।

सुरुवातदेखि नै बालरोगको उपचार सेवालाई प्राथमिकता दिँदै आएको अस्पतालले अब बालरोग विभागलाई एनआईसीयू र पीआईसीयूसहितको बेड थप्न लागेको हो।

त्यसका लागि ५ बेडको पीआईसीयू सेवा संचालन गरिएको अब त्यसलाई १५ शय्याको बनाउन लागिएको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताए। उनले १० शय्याको पीआईसीयू सहितको सेवा समेत विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको अक्षरपाटीलाई बताए।

‘यो अस्पतालको परिकल्पना नै आफ्नो बच्चाको उपचार गराउँदा पाएको हैरानीबाट सुरु भएको हो,’ अध्यक्ष पन्तले भने,’ अब धनगढीका जनताका नानीबाबुहरु स्वास्थ्य सेवाबाट बञ्चिन हुन नपरोस भन्ने उदेश्य छ। अब बच्चाको उपचारका लागि कसैले पनि बाहिर ताक्न नपरोस भन्ने हाम्रो उद्देश्य हो।’

तिर्थराज पन्त, अध्यक्ष

अध्यक्ष पन्तले सुदूरपश्चिममा कोही पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस्, सुलभ र भरपर्दो स्वास्थ्य सेवा सबैले पाउन् र उपचारकै लागि भारत तथा राजधानी काठमाडौं जान नपरोस भन्ने उदेश्यले ६ वर्ष अगाडि यो अस्पताल स्थापना भएको सम्झिए। उनले अब आईसीयू तथा पीआईसीयू सहितको सेवा यहीँ प्रदान हुने विश्वास दिलाए।

उनले स्थानीय स्वास्थ्यकर्मी तथा जनशक्तिलाई प्राथमिकता दिएर सेवा सुरु गरेको र अहिले उपचार, विशेषज्ञ सेवा तथा सुपरस्पेशियालिटी सेवा सहितको गुणस्तरीय सेवा दिने अस्पतालको पहिलो उद्देश्य भएको बताए।

अस्पतालमा १२५ भन्दा बढी स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्। अस्पताललाई सय बेडमा विस्तार गरेपछि नर्सिङको पढाई समेत सुरु गर्ने योजना उनले सुनाए।

अस्पतालका नवजात शिशु तथा बालरोग क्रिटिकल केयर विशेषज्ञ डा पुष्पराज अवस्थीले केही विशेष परिस्थिति बाहेक बालबालिकाको उपचारका लागि धनगढीबाट अन्यत्र जानु नपर्ने दाबी गरे।

उनले आफू विशेषज्ञता हासिल गरेर आएपछि स्वास्थ्यमा पछाडि परेको सुदूरपश्चिममा नै काम गर्ने सोचले यहाँ सेवा सुरु गरेको सुनाए। सेवा सुरु गरेको २ वर्षमा अनेक समस्या भएका बच्चाहरुको उपचार गरेको उनले सम्झिए।

अस्पतालले बालरोग विभागको सेवा थप विस्तार गर्न किन आवश्यक पर्यो र यस विभागमा कस्ता कस्ता उपकरण तथा जनशक्ति रहने छन् रु सिकिस्त बाल रोग विधामा विशेषज्ञता हासिल गर्ने नेपालमै २ जनामध्येका एक अस्पतालका नवजात शिशु तथा बालरोग क्रिटिकल केयर विशेषज्ञ डा. पुष्पराज अवस्थीसँग छोटो कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।

डा. पुष्पराज अवस्थी

बालरोग विभागको सेवा थप विस्तार गर्नैपर्ने आवश्यकता किन पर्यो ?

हुन त बच्चाका हरेक बिमारी सामान्यतया क्रिटिकल नै हुन्छन्। उनीहरुको रोग प्रतिरोधी क्षमता विकास भइनसकेको उमेरमा सामान्य ज्वरो पनि ठिक भइहाल्छ भनेर कुर्न मिल्दैन। उपचार सुरु गरि नै हाल्नुपर्छ। त्यसैले बच्चाको उपचार गराउन टाढा जानु पर्दा बच्चा तथा परिवार सबैलाई गाह्रो हुन्छ। जसले गर्दा हामीले तीन जना बालरोग विशेषज्ञसहित धनगढीमा नै सुविधा सम्पन्न बाल स्वास्थ्य उपचारको विभाग संचालन गर्ने सोच बनाएका हौँ।

के के सेवा प्रदान गर्दै आउनुभएको छ ?

निसर्ग अस्पतालमा अहिले हामीले भेन्टिलेटरसहितको सेवा दिएका छौँ। पहिले यो सेवा लिनुपर्ने बिरामी रिफर हुने गरेका थिए। त्यसैगरी आईसीयू चाहिने बिरामी न्यूरोका समस्या भएका तथा अप्रेसनपछि आईसीयू चाहिने बिरामी पनि हेरिरहेका छौँ। न्यूरो सर्जरी पछिका बिरामी, दुर्घटनाका तथा जन्मजात मुटु तथा जन्मने वित्तिकै मुटुको समस्या भएका बच्चाको रोग पहिचान गरी मुटुको अप्रेशन गर्नुपर्ने हुन्छ । त्यस्ता बच्चालाई हामी प्रारम्भिक उपचार गरेका सामान्य बनाएर पठाउछौँ। किनकि मुटुको अप्रेशन चाहीँ हुँदैन। त्यस्तै मृगौलाका समस्या भएका बिरामी जसका लागि आईसीयूमा राखेर उपचार गर्नुपर्छ त्यस्ता बिरामी हेरिरहेका छौँ।

क्रिटिकल केयरको लागि उपकरण र जनशक्तिको व्यवस्थापन कसरी गर्नु भएको छ ?

हामीले आईसीयू तथा क्रिटिकल केयरका लागि गुणस्तरीय उपकरणले व्यवस्था मात्र नभइ नर्सिङ तथा स्वास्थ्कर्मीलाई पनि सोहीअनुसारको नियमित तालिम दिने गरेका छौँ। यो टिमवर्कमा गरिने काम भएकाले उपचार प्रकृयामा संलग्न नर्स तथा स्वास्थ्यकर्मी जनशक्तिलाई तालिम दिनु आवश्यक हुन्छ। सबैजना उत्तिकै दक्ष र संवेदनशील भएर हामी यो सेवा प्रदान गरिरहेका छौँ।

कति संख्यामा बिरामी आउन थालेका छन् ?

अहिले बालरोग विभागको ओपीडीमा ५० देखि ६० जना बालबालिका उपचारका लागि आउने गरेका छन्। प्राय आईसीयूमा पनि १ देखि ४ जना बिरामीले सेवा लिने आउँछन्। अर्को सकारात्मक कुरा के भने पहिला हाम्रा बालबालिका उपचार लिन भारतको लखनऊ, बरेली, दिल्ली जान्थे, अहिले भारतका विभिन्न जिल्लाबाट पनि बालरोगलगायतका सेवा लिन निसर्गमा आउन थालेका छन्।

डा पुष्पराज अवस्थी निसर्ग हस्पिटल