Logo
१९ असोज २०८३, सोमबार

क्यान्सरविरुद्धको लडाइँ जितेकाहरूको आवाज एउटै मञ्चमा, १०० भन्दा बढी सर्भाइभर सहभागी

अक्षरपाटी
२०८३ असोज १९ , सोमबार १०:१० मा प्रकाशित

काठमाडौं, १९ असोज। क्यान्सरविरुद्धको उपचार यात्रा पूरा गरेका र उपचाररत १०० भन्दा बढी क्यान्सर बिरामी तथा सर्भाइभर एउटै मञ्चमा भेला भएर आफ्नो उपचार यात्रा, संघर्ष, अनुभव र उपचारपछिको जीवनबारे खुलेर अनुभव साटासाट गरेका छन्।

नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडको आयोजनामा सम्पन्न नेपाल क्यान्सर सम्मेलन–२०२६ अन्तर्गत नेपालमा पहिलोपटक क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमलाई सफल बनाउन डा. सुदीप श्रेष्ठको विशेष भूमिका तथा सक्रिय पहल थियो।

सर्भाइभरका आवाजलाई क्यान्सर उपचार प्रणालीसँग जोड्ने, उनीहरूका अनुभवलाई साझा मञ्च प्रदान गर्ने तथा उपचारपछिको जीवनलाई क्यान्सर हेरचाहको महत्वपूर्ण हिस्साका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा डा. श्रेष्ठको नेतृत्वदायी भूमिका रहेको थियो। उक्त सत्रका संयोजक समेत डा श्रेष्ठ थिए।

क्यान्सरलाई पराजित गरेपछि पनि सर्भाइभरले सामना गर्नुपर्ने मानसिक, सामाजिक, आर्थिक तथा भावनात्मक चुनौतीलाई सार्वजनिक बहसको विषय बनाउँदै आयोजना गरिएको कार्यक्रमले उपचारपछिको जीवनलाई समेत क्यान्सर हेरचाहको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने सन्देश दिन कार्यक्रम गरिएको डा. श्रेष्ठको भनाइ थियो।

काठमाडौंको र्‍याडिसन होटलमा ‘अवरोध तोड्दै, आशा जगाउँदै–क्यान्सरविरुद्ध सामूहिक लडाइँ’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनको दोस्रो दिन क्यान्सर सर्भाइभर केन्द्रित विशेष सत्र आयोजना गरिएको थियो।

नेपाल क्यान्सर सहयोग समूह तथा ‘उपचारका लागि सहयोगी हातहरू नेपाल’को सहकार्यमा भएको उक्त कार्यक्रममा उपचारपछि सामान्य जीवनमा फर्किएका सर्भाइभरसँगै उपचाररत बिरामीले समेत आफ्ना अनुभव सुनाएका थिए।

सर्भाइभरका आवाजलाई क्यान्सर उपचार प्रणालीसँग जोड्ने तथा उपचारपछिको जीवनका वास्तविक चुनौतीलाई स्वास्थ्य सेवाको मूल बहसमा ल्याउने उद्देश्यमा डा. श्रेष्ठले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

उपचार सकिएपछि पनि सकिँदैन क्यान्सरविरुद्धको यात्रा

कार्यक्रममा क्यान्सरको उपचार सकिएपछि पनि बिरामीले भोग्नुपर्ने विभिन्न चुनौतीबारे गहन छलफल भएको थियो। उपचारपछि फेरि क्यान्सर फर्किने डर, निरन्तर रहने थकान, उपचारमा लागेको ठूलो आर्थिक भार, मानसिक तनाव, पारिवारिक तथा सामाजिक सम्बन्धमा आउने परिवर्तन र समाजमा पुनःस्थापित हुने चुनौतीबारे सर्भाइभरहरूले आफ्ना अनुभव सुनाए।

कार्यक्रमअन्तर्गत ‘स्तन क्यान्सरबाट बचेपछिको यात्रा : नबोलिएका कुरा उजागर गर्दै अघि बढ्ने बाटो’ विषयमा विशेष छलफल गरिएको थियो। उक्त छलफलमा नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरूपा श्रेष्ठ र डा. मुरारीमान श्रेष्ठले अध्यक्षता गरेका थिए भने डा. सुदीप श्रेष्ठले संयोजन गरेका थिए।

छलफलमा बबी शाक्य, गीता चौधरी, ज्ञानु लामा, प्रमिता खनाल र सुलोचना श्रेष्ठ सहभागी थिए। त्यसैगरी शशांक शर्माले ‘बिरामीबाट अधिकारका लागि आवाज उठाउने व्यक्तिसम्म : सर्भाइभरले क्यान्सर उपचार प्रणालीलाई कसरी आकार दिन चाहन्छन्’ विषयमा प्रस्तुति दिएका थिए।

डली गुरुङले उपचारपछिको जीवन र फेरि क्यान्सर हुने डरले सर्भाइभरमा पार्ने मानसिक बोझबारे आफ्नो अनुभव सुनाएकी थिइन्। त्यस्तै डा. प्रबिना श्रेष्ठले उपचारपछिको जीवनमा देखिने थकानसम्बन्धी आफ्नै अनुभव सुनाइन् भने सोनी बरालले क्यान्सर उपचारका क्रममा परिवारले व्यहोर्नुपर्ने आर्थिक बोझबारे प्रस्तुति दिइन्।

‘रोग निको पार्नु मात्रै पर्याप्त छैन’

कार्यक्रममा क्यान्सर उपचारलाई केवल रोग नियन्त्रण वा निको पार्ने प्रक्रियाका रूपमा नहेरी उपचारपछिको जीवनलाई पनि स्वास्थ्य सेवाको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिइएको थियो। क्यान्सरको उपचार पूरा गरेपछि बिरामी शारीरिक रूपमा निको भए पनि मानसिक, भावनात्मक, सामाजिक र आर्थिक रूपमा सामान्य जीवनमा फर्किन लामो समय लाग्न सक्ने सहभागीहरूको अनुभव थियो।

त्यसैले उपचारपछिको पुनर्स्थापना, नियमित स्वास्थ्य जाँच, मानसिक स्वास्थ्य सहयोग, परिवार तथा समाजको साथ र आर्थिक संरक्षणलाई क्यान्सर हेरचाहको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको छ।

१०० भन्दा बढी क्यान्सर बिरामी तथा सर्भाइभरको प्रत्यक्ष सहभागिताले कार्यक्रमलाई अझ जिवन्त बनाएको आयोजकको भनाइ छ। आफ्नो उपचार यात्रा पूरा गरेका सर्भाइभर र उपचाररथलाई एउटै मञ्चमा ल्याएर उनीहरूको आवाज सुन्ने, अनुभवबाट सिक्ने र आगामी दिनको क्यान्सर उपचार प्रणालीलाई थप बिरामीमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपालमा पहिलोपटक सर्भाइभरको अनुभवलाई यसरी केन्द्रमा राखेर गरिएको कार्यक्रमले ‘क्यान्सरविरुद्धको लडाइँ अस्पतालको शय्यामा उपचार सकिएसँगै समाप्त हुँदैन, उपचारपछिको जीवनमा पनि साथ र सहयोग आवश्यक हुन्छ’ भन्ने सन्देश दिएको छ।

नेपाल क्यान्सर सहयोग समूह र ‘उपचारका लागि सहयोगी हातहरू नेपाल’सँगको सहकार्यमा सम्पन्न कार्यक्रमले क्यान्सर सर्भाइभरको आवाजलाई स्वास्थ्य प्रणालीको मूलधारमा ल्याउने र उपचारपछिको जीवनलाई सम्मानजनक, सहज, सुरक्षित र आत्मनिर्भर बनाउने दिशामा नयाँ बहसको सुरुवात गरेको आयोजकले जनाएको छ।

नेपाल क्यान्सर सम्मेलन–२०२६ नेपाल क्यान्सर हस्पिटल

ट्रेन्डिङ ( साप्ताहिक )