Logo
२७ वैशाख २०८१, बिहीबार

हेटौँडा-काठमाण्डौ छोटो दूरीका सबै सडक अवरुद्ध

अक्षरपाटी
२०८० साउन २८ , आईतबार १२:०८ मा प्रकाशित

मकवानपुर, २८ साउन । हेटौँडाबाट काठमाण्डौ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा(भैँसे(भीमफेदी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको हो ।

भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरीमा पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाण्डौ सडक खण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडामा रहेको कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी-९ लामीडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताउनुभयो । त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका-११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा-काठमाण्डौ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।