Logo
२१ वैशाख २०८१, शुक्रबार

आइफोन १५ सार्वजनिक

अक्षरपाटी
२०८० भदौ २७ , बुधबार ०४:०९ मा प्रकाशित

काठमाडौं,२७ भदौ । आइफोन १५ सार्वजनिक भएको छ। एप्पलले मंगलबार आइफोन १५ सिरिजअन्तर्गतका नयाँ मोडलहरू सार्वजनिक गरेको हो। जसमा आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स छन्।

एप्पलले आइफोन १५ सिरिजमा धेरै बदलाव गरेको छ। उसले यसअघिको लाइटनिङ चार्जिङ पोर्ट हटाएको छ । त्यसको ठाउँमा सी पोर्ट चार्जिङ राखिएको छ। पछिल्लो समय एन्ड्रोइड फोनहरूमा सी पोर्ट चार्जिङ राखिएको हुन्छ। चार्जिङका सहजता ल्याउनका लागि एप्पलले पनि लाइटनिङलाई हटाएर सी पोर्ट चार्जिङ पोर्ट राखेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

पछिल्लो समय क्रियटरहरूले आइफोनबाट भिडियो बनाउने गरेका छन्। उनीहरूका लागि एप्पलले क्यामेरालाई झन् स्तरीय बनाएको छ। आइफोन १५ मा ४८ मेगापिक्सलको क्यामरा जडान गरिएको छ। जसबाट तस्विरको गुणस्तर झनै राम्रो हुने कम्पनीको विश्वास छ। कम प्रकाश र फोकसलाई पनि क्यामेरामा प्राथमिकतामा दिइएको छ।

त्यस्तै आइफोन १५ को साइज ६.१ इन्च रहेको छ भने आइफोन १५ प्लसको ६.७ इन्च रहेको छ। यसपटक आइफोन गुलाबी, पहेँलो, हरियो, निलो र कालो रंगमा उपलब्ध हुनेछ।

एप्पलले आइफोन १५ को बजार मूल्य ७९९ डलर राखेको छ। जबकि आइफोन १५ प्लसलाई ८९९ डलर मूल्य राखेको छ। त्यस्तै आइफोन १५ प्रोको सुरुवाती मूल्य ९९९ डलर र आइफोन १५ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर राखिएको एप्पलले जनाएको छ।

एप्पलले आइफोन १५ का सबै सिरिज खरिदका लागि प्रिअर्डर खुला गरेको छ। यद्यपिमा बजारमा सेप्टेम्बर २२ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ।