Logo
६ वैशाख २०८२, शनिबार

निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः कैलारी, सुर्मादेवी र सागर युवा क्लब विजयी

अक्षरपाटी
२०८० भदौ २८ , बिहीबार ०६:०९ मा प्रकाशित

कैलाली। कैलालीको कैलारी गाउँपालिका ४ के गाउँमा भइरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फका खेलहरुमा सागर युवा क्लब, कैलारी युथ युनाईटेड र सुर्मादेवी युवा क्लब विजयी भएका छन्।

पहिलो खेलमा जित हात पारेसँगै तीनवटै क्लब दोस्रो चरणमा प्रवेश गरेका छन्।

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भइरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको पहिलो खेलमा सागर युवा क्लब विजयी भएको छ।

सागर युवा क्लबले एबीसी ईन्जिनियरिङलाई हराएको हो। एबिसीलाई सागर युवा क्लबले २–० ले हरायो।

पुरुष तर्फको दोस्रो खेलमा कैलारी युथ युनाइटेड विजयी भएको छ। कैलारी युथले चौधरी जागृति क्लबलाई हराएको हो।

कैलारी युथले चौधरी जागृतिमाथि ४–१ को सानदार जित दर्ता गर्यो।

कैलारी गाउँपालिका ४ के गाउँको खेल मैदानमा भइरहेको प्रतियोगिताको पुरुष तर्फको तेस्रो खेलमा सुर्मादेवी युवा क्लब विजयी भयो।

सुर्मादेवीले भजनी नगरपालिकाको टीमलाई हराएको हो। निर्धारित समयमा दुबै टीमले बराबरी खेलेपछि टाईब्रेकरमा सुर्मादेवीले बाजी मारेको हो।

नकआउटका आधारमा भइरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको छ भने महिला तर्फ ६ टीमको सहभागीता रहेको छ।

पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए।

यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन्।

प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ ।

वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ।