Logo
१५ वैशाख २०८१, शनिबार

शिक्षा विधेयक संशोधनको माग गर्दै शिक्षकहरु आज पनि आन्दोलनमा

अक्षरपाटी
२०८० असोज ४ , बिहीबार ११:०९ मा प्रकाशित

काठमाण्डौ,४ असोज । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । आज दोस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा छन् । यसले गर्दा पठनपाठन प्रभावित भएको छ । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

शिक्षाविद्लगायत सरोकारवालाहरुले बालबालिकाको पढ्न पाउने अधिकार वञ्चित नगर्न र वार्तामार्फत् समस्याको समाधान खोज्न आग्रह गरेका छन् । शिक्षकहरुको आन्दोलनका कारण हिजो काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो ।

आज हिजोको जस्तो भद्रगोल नहोस् भन्नका लागि गृह र शिक्षा मन्त्रालयसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आन्दोलनरत नेपाल शिक्षक महासङ्घसँग बिहान छलफल गरेको छ ।

आन्दोलनका क्रममा निषेध गरिएका क्षेत्र नतोड्न र शान्ति कायम राख्न महासङ्घलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो।

नेपाल शिक्षक महसङ्घकी अध्यक्ष कमला तुलाधरले पनि बिहान शान्ति सुरक्षाका विषयमा मात्रै छलफल भएको बताउनुभयो । उहाँले सरकार प्रमुखसहित सरोकारवाला अन्य निकायसँग बसेर मात्रै वार्ता गर्ने बताउनुभयो । महासङ्घले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति जनाएको छ । जसमा सरुवा बढुवा, दरबन्दी, पालिकाअन्तर्गत हुन नहुनेसहितका माग छन् ।