Logo
२१ वैशाख २०८१, शुक्रबार

ब्रोकर कमिसन १० प्रतिशतले घटाउने धितोपत्र बोर्डको निर्णय

अक्षरपाटी
२०८० कात्तिक १ , बुधबार ०४:१० मा प्रकाशित

काठमाण्डौ,१ कात्तिक । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने निर्णय गरेको छ ।

बोर्डका अनुसार लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाउने र ब्रोकरले धितोपत्र बोर्ड सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले घटेको छ ।

बोर्डले यसअघि २०७७ सालको पुस १० गते सङ्गठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो । अब माथिल्लो सीमालाई शून्य दशमलव ३० प्रतिशत कायम गर्ने र न्यूनतम सीमालाई घटाएर शून्य दशमलव २५ प्रतिशत कायम गर्ने तयारी रहेको बोर्डले जनाएको छ । लगानीकर्ताले तिरेको कमिसनबाट ब्रोकरलाई २० प्रतिशत र त्यसैबाट सीडीएससीलाई २५ प्रतिशत कमिसन जाने गरेको छ । यस्तै अहिले शेयर लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै शून्य दशमलव शून्य १५ प्रतिशत कमिसन तिर्ने गरेका छन् ।

अहिले ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, २० लाखभन्दा माथि १ करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोडभन्दा माथि जतिसुकैको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।