Logo
१६ वैशाख २०८१, आईतबार

मंगलबारदेखि दक्षीण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

अक्षरपाटी
२०८० मंसीर ४ , सोमबार १०:११ मा प्रकाशित

काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालीको आयोजनामा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ भोलिदेखि सुरु हुने भएको छ।

पुस्तक प्रदर्शनी आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ ।

पुस्तक प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, भारत, बंगलादेशलगायत विभिन्न देश र चीन, अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने छ।

कार्यक्रमको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने आयोजकले जानकारी दिए।

पु्स्तक प्रर्दशनीमा एक सय ८० भन्दा बढी स्टलहरूमा देश तथा विदेशका विभिन्न उत्पादनहरू प्रदर्शनमा रहने बताइएको छ।

वृहत् पुस्तक तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा विशेष अतिथिको रूपमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेशनलाई आमन्त्रण गरिएको छ।

साथै, चीन र भारतका राजदूतलाई समेत निमन्त्रणा गरिएको आयोजकले बताएको छ।

प्रदर्शनीलाई १५ लाखले अवलोकन गर्ने आँकलन आयोजकको आँकलन रहेको छ।

कार्यक्रमका संयोजक एवं महासंघका वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरेले पुस्तक प्रदर्शनी व्यापार, पठन संस्कृति, लेखक र पाठकहरुसँग सम्बन्धित रहेको बताए ।

कस्ता पुस्तकहरु पढ्ने, कस्ता पुस्तकप्रति पाठकहरुको रूची बढिरहेको छ, लेखक, सर्जकहरुको अनूभवहरु के–कस्ता छन् जस्ता विषयमा पनि उक्त प्रदर्शनीमा वहस हुने उनको दाबी छ।

साथै, विभिन्न युवा नेताहरुसँग शैक्षिक वहस कार्यक्रम समेत प्रदर्शनिको आकर्षणको रुपमा रहेको उनले बताए।

त्यसैगरी, महासंघका महासचिव शिवसागर शर्माले सबैखाले पाठकहरुको रूचीलाई सम्बोधन गर्नेगरी पुस्तकहरु प्रदर्शनीमा राखिने बताए।