एजेन्सी । इजरायलले गाजामा गरिरहेको क्रुर र आततायी हमलामा परेर अल जजीरा टेलिभिजनका पत्रकारको मृत्यु भएको छ । शुक्रवारको सो हमलामा अल जजीराका गाजा संवाददाता घाइते भएका छन् ।
गाजा शहरको खान युनिसस्थित एक स्कूलमा इजरायली हमलाको बारे रिपोर्टिङ गरिरहेका बेला इजरायली सेनाले अल जजीराका क्यामेरामेन समर अबू दक्काको हत्या गरेको हो।
सो आक्रमणमा संवाददाता वाएल अल दहदौ घाइते भएको अल जजीराले जनाएको छ । रिपोर्टिङकै क्रममा उनीहरुमाथि ड्रोनबाट हमला भएको थियो ।
रिपोर्टरको काँधमा गम्भीर चोट लागे पनि रगत बगिरहेका बेला उनी भाग्न सफल भएका थिए।
क्यामेरामेनलाई घटनास्थलबाट एम्बुलेन्समार्फत उद्दार गर्न खोजिए पनि बाटो बन्द भएका कारण उपचार नपाएर मृत्यु भयो । मृतक खान सन् २००४ देखि अल जजीराका लागि प्यालेस्टानइमा काम गरिरहेका पत्रकार थिए।
इजरायली सेनाले पत्रकारको हत्याबारे अहिलेसम्म कुनै प्रतिक्रया दिएको छैन । घाइते पत्रकार दहदौकी श्रीमती,छोरा र छोरीका साथै नातिको समेत यसै अक्टोबरको हमलामा मृत्यु भएको थियो ।
अल जजीराले जानी जानी इजरायली सेनाले पत्रकार दहदौको परिवारलाई निशाना बनाएको आरोप लगाएको छ ।
पत्रकार दहदौ प्यालेस्टाइनी जनताको पीडा विश्व समुदायलाई सुनाउने एकमात्र साहसी पत्रकार मानिन्छन्। त्यसैले इजरायलले श्रीमती,छोरा छोरीको समेत हत्या गरेको आरोप छ।
इजरायली आक्रमणमा परी अहिलेसम्म ५७ जना प्यालेस्टाइनी पत्रकारको हत्या भइसकेको छ।