Logo
१६ वैशाख २०८१, आईतबार

काठमाडौंबाट धनगढी उडेका दुई विमान सुर्खेतमा अवतरण

अक्षरपाटी
२०८० पुस २५ , बुधबार १२:०१ मा प्रकाशित

धनगढी, २५ पुस । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ ।

बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएका हुन।

दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को लगाए पनि मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताउँदै उनले मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।

बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले पनि प्रतिकुल मौसमका कारण विमान अवतरण हुन नसकेपछि फर्किएको बताए।

उनका अनुसार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो।

सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले जनाएको छ।

धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एयरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन्।