Logo
१५ वैशाख २०८१, शनिबार

बम्जनको घरबाट ३ करोड ३४ लाख बढी रुपैयाँ बरामद

अक्षरपाटी
२०८० पुस २५ , बुधबार ०२:०१ मा प्रकाशित

काठमाडौं,२५ पुष । हत्या,बेपत्ता र यौन हिंसाको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी तपश्वी भनिएका बम्जनलाई पक्राउ गरेको बारे जानकारी गराएको हो।

सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’चलाएको थियो ।

उनलाई थप कारवाहीका लागि सर्लाही जिल्ला अदालत पठाइने सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता भएको छ।

बम्जनलाई सीआईबीको टोलीले मंगलबार काठमाडौंको हात्तीगौडबाट पक्राउ गरेको हो। उनी बसेको घरबाट नेपाली तथा विदेशी मुद्रा बरामद भएको छ। जसमध्ये ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४०६ नेपाली रुपैयाँ बराबरको १७ देशको विदेशी मुद्रा गरी कूल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको हो।

यसैगरी उनको साथबाट केही सामान पनि बरामद भएका छन्। प्रहरीका अनुसार मोटरसाइकलको बिलबुकहरू ३ थान, टोयटा हिलक्स गाडीको चाबी १ थान, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान,सोनी लेखिएको भ्वाइस रेकर्डर १ थान, विभिन्न ब्राण्डका ल्यापटप २ थान, विभिन्न ब्राण्डका मेमोरी कार्डहरू २ थान,विभिन्न ब्राण्डका मोबाइल १४ थान र विभिन्न ब्राण्डका आइ प्याड र ट्यापहरू ५ थान बरामद भएको छ।

सीआईबीका अनुसार ४ जना अनुयायीहरू बेपत्ता भएको भन्ने सूचना आएको र उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ।

उनीमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ गते बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो।

घटनबारे थप अनुसन्धान भइरहेको सीआईबीले बताएको छ।