Logo
२९ वैशाख २०८१, शनिबार

जाजरकोट भूकम्प : ५५ हजार परिवार अझै त्रिपालमुनि, लाभग्राहीको सङ्ख्या झन्डै ८० हजार

अक्षरपाटी
२०८० माघ ५ , शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाण्डौ,५ माघ । जाजरकोट भूकम्पका प्रभावित लाभग्राहीको सङ्ख्या झन्डै ८० हजार पुगेको छ । पालिकाले थप तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार ५ सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निजी आवास तथा पुनर्निर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो पटक १२ हजारभन्दा धेरै लाभग्राही थपिएका छन् । जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि ४ अर्ब ७५ लाख रुपैयाँ लाग्ने सरकारी अनुमान रहेकोमा थप रकम चाहिने भएको छ ।

सरकारले लाभग्राहीका लागि अहिलेसम्म २ अर्ब २६ करोड रुपैयाँ निकासा गरेको छ । केन्द्रबाट निकासा गरी पठाएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट पालिकाको विपद् व्यवस्थापन समितिमा १ अर्ब ९० करोड रुपैयाँ गएको र पालिकाबाट लाभग्राहीको खातामा १ अर्ब २६ करोड रुपैयाँ पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५० हजार लाभग्राहीको खातामा पहिलो किस्ता रकम पुगेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताउनुभयो । १० हजार घर निर्माणाधीन छन् ।

भूकम्पमा घर भत्किएका ५५ हजारभन्दा धेरै परिवार अझै त्रिपालमुनि बस्न बाध्य छन् । साढे २ महिनादेखि पालमुनि बस्दा चिसोले सताएको पीडितहरू बताउँछन् । जाजरकोट केन्द्रविन्दु भएर गएको कात्तिक १७ गते गएको भूकम्पका कारण १ सय ५७ जनाले ज्यान गुमाएका थिए ।