Logo
३० वैशाख २०८१, आईतबार

सटर बन्द गरेर आन्दोलनमा न्युरोडका व्यापारी

अक्षरपाटी
२०८० माघ ९ , मंगलबार १२:०१ मा प्रकाशित

काठमाडौं,९ माघ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आज (मंगलबार) देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।

यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ ।

यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।

यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ । तर न्युरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ ।