Logo
२८ वैशाख २०८१, शुक्रबार

आजदेखि शहीद सप्ताह शुरु, सूचीमा साढे २ हजारभन्दा धेरै थप्ने तयारी

अक्षरपाटी
२०८० माघ १० , बुधबार ०३:०१ मा प्रकाशित

काठमाण्डौ,१० माघ । आजदेखि शहीद सप्ताह शुरु भएको छ । तत्कालीन राणाशासनको विरोध गरेको आरोपमा १९९७ सालमा ४ जनालाई मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ ।

गृह मन्त्रालयमा रहेको तथ्याङ्कअनुसार नेपालमा शहीदको सङ्ख्या १२ हजार १ सय ९७ जना छ । यो सङ्ख्या चाँडै १४ हजार ७ सय ९८ जना पुग्दैछ । गएको पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयबाट थप २ हजार ६ सय १ जनाको सूची प्राप्त भएको र त्यसलाई राजपत्रमा प्रकाशन गर्ने अन्तिम तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । केही दिनमै राजपत्रमा प्रकाशित हुनेछ ।

शहीद घोषणाका लागि सरकारले २०६६ सालमा मोदनाथ प्रश्रितको संयोजकत्वमा र २०६८ सालमा नवराज सुवेदीको अध्यक्षता आयोग गठन गरेको थियो । ती आयोगले प्रतिवेदन बुझाए पनि सरकारले आफू अनुकूल वा विभिन्न आन्दोलनका आधारमा शहीद घोषणा गर्दै आएको छ । कतिपय राजनीतिक दलले राजनीतिक स्वार्थपूर्ति गर्न र कतिपयले शहीद परिवारलाई सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँ पाउने लोभमा पनि शहीद घोषणा गर्नुपर्ने माग अघि सार्दै आएका छन् ।