Logo
२८ वैशाख २०८१, शुक्रबार

बिजुलीको महसुल नबुझाउने सात कार्यालयको लाइन काटियो

अक्षरपाटी
२०८० माघ १७ , बुधबार १२:०१ मा प्रकाशित

कैलाली,१७ माघ । नेपाल विद्युत् प्राधिकरण कैलाली धनगढीले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको लाइन काट्न थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत अटेरी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न थालेको हो ।

धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख २ हजार ६ सय रुपैयाँ महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्क छ ।

धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजारभन्दा धेरै ग्राहक रहेका छन् । विद्युत् प्राधिकरणले धनगढी र अत्तरियामा महसुल नबुझाउने दुई सय ५३ ग्राहकको लाइन काटेको जनाएको छ । महसुल नबुझाएका ग्राहकको बक्यौता रकम झण्डै एक करोड ५३ लाख ५० हजार रहेको वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलले बताउनुभयो । उहाँका अनुसार लाइन काट्न शुरु गरेपछि एक सय ८० ग्राहकले महसुल बुझाएका छन् । ती ग्राहकबाट ७८ लाख ३७ हजारभन्दा धेरै रकम असुली भएको छ ।

लाइन काटिएका सरकारी कार्यालयबाट एक लाख ४८ हजार महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिनुभयो । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।

लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखेर असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको छ।